‘भेमाथाङ बग्न रोक्नुहोस्, मेलम्चीको पानी दशैमा काठमाडौँ पठाउछौँ’ – अध्यक्ष शेर्पा

काठमाडौँ – हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दसैँसम्ममा अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौं पठाउन सकिने बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा शेर्पाले मेलम्ची माथि भ्रेमाथाङ क्षेत्रको गेगरानलाई बग्नबाट रोक्न आग्रह गरे ।

खानी तथा भूगर्भ विभागका सिनियर भूगर्भशास्त्री शिव बाँस्कोटा नेतृत्वको टोलीले भेमाथाङमा अझै १५ लाख ट्रक गिट्टी, ढुङ्गा र बालुवाको गेगरान रहेको जनाएको छ ।

अध्यक्ष शेर्पाले भेमाथाङको चउरभन्दा तल नदी कटानपछि उत्पन्न भएका थुप्रै बग्ने पहिरो रहेकाले त्यसलाई रोक्नुपर्ने बताए । ’साउन १६ गते जस्तो भेलबाढी फेरि आउँछ कि आउँदैन’, विज्ञहरुलाई शेर्पाले प्रश्न गरे ।

उनले भेमाथाङ क्षेत्रलाई बग्नबाट नरोके त्यसले आगामी ४/५ वर्षसम्म दुःख दिन सक्ने बताए । तर माथिल्लो क्षेत्रमा भेलबाढी रोक्न सक्ने हो भने मेलम्चीको पानी दसैँमा काठमाडौँ आउन सक्ने बताए ।

’सरकार कस्सिएर लाग्ने हो भने दसैँमा पानी आउँछ’, शेर्पाले भने, ’त्यो मेलम्चीको मुहान भएको ठाउँमा स्थायी संरचना बनाउन हुने ठाउँ होइन रहेछ । तीन वटा पहिरोको मुखमा संरचना बनाए स्थायी हुन्न भन्ने लाग्छ।’

शेर्पाले मेलम्ची खानेपानी आयोजनाको टोलीले साउन १६ गतेको भेलबाढीपछि मुहानस्थल पुगेर अध्ययन गरेको बताए ।

’खानेपानीको टोली चिसापानीको वैकल्पिक बाटोबाट मुहान पुगेर फर्किएको छ’, शेर्पाले भने, ’एक महिनासम्ममा आयोजना इन्टेकमा काम गर्न पुग्छ ।’

मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित इन्टेक भेलबाढीले पुरिएको छ । झण्डै १५ मिटर पुरिएको इन्टेकबाट यसअघि सुरुङमा हालिएको पानी फाल्नुपर्नेछ । इन्टेक सफा गरिसकेपछि पानी अस्थायी रुपमा पठाउन सकिने शेर्पाले बताए । ’अस्थायी बाटोबाट पानी पठाउन सकिन्छ’, शेर्पाले भने, ’चिसापानी तर्फबाट त्यहाँ पुग्न सकिन्छ ।’

मेलम्चीबाट चनौटे हुदैँ खानेपानी आयोजना पुग्ने ६ वटा पुल भेलबाढीले बगाएको छ । ’मेलम्चीको बाटो हुदैँ मुहान पुग्ने सम्भावना अहिलेलाई छैन’, शेर्पाले भने, ’सरकार नै लागेर काम गर्ने हो दसैँमा मेलम्चीको पानी अस्थायी रुपमा ल्याउन सक्छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्