काठमाण्डौ – प्रतिनिधि सभाको आज शुक्रवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे सांसद मातृकाप्रसाद यादवका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठक सुरु हुनेबित्तिकै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिजो बिहीवारको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बालेको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।
हिजोको बैठकमा विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद मातृकाप्रसाद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शारीरिक र मानसिक रूपमा अस्वस्थ रहेको टिप्पणी गर्नुभएको थियो । आजको बैठक सुरु हुनासाथ यादवको अभिव्यक्ति हटाउन माग गर्दै एमालेले आपत्ति जनाएपछि सभामुख सापकोटाले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावली विपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको थियो ।