काठमाडौँ – बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित पौडेललाई बलात्कारको कसुरमा दोषी ठहर गर्दै सो फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार पौडेलबाट पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत फैसला भएको हो ।
पौडेलले २०७७ वैशाख ३० गते बेलकोटगढी नपा–५ स्थित एक ओडारमा बोलाई १५ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको अर्को दिन जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी दर्ता भएको थियो । स्थानीयवासीले उनलाई बालिका बलात्कार गरेको स्थानबाटै नियन्त्रणमा लिई कारवाहीका लागि प्रहरीमा बुझाएका थिए ।