मोटरसाईकल ठोक्किदा २ जनाको मृत्यु

सप्तरी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको बायाँ साइडको ह्यान्डिल बसको बीच भागमा ठोकिएको थियो ।

मोटरसाइकल बसमा ठोक्किएर अनियन्त्रित भएकै समयमा विपरीत दिशाबाट आउँदै गरेको प्र.न.२–०१–००१ प ९५५६ नम्बरको अर्को मोटरसाइकल उक्त मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स११प ४०३८ नम्बरको मोटरसाइकलका चालक सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय बुद्धसागर चौधरी र प्र.न.२–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका १७ बस्ने २८ वर्षीय रामशंकर यादवको मृत्यु भएको छ ।

चौधरीको घटनास्थलमै र यादवको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स.११.प. ४०३८ नम्बरको मोटरसाइकलमा पछाडि सवार सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय आन्नद चौधरी र प्र.न.२–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकलको पछाडि सबार सिरहाको लहान नगरपालिका २० बस्ने २३ वर्षीय सोनम चौधरी घाइते भएका छन् ।

दुर्घटना भएको मोटरसाइकल बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्