प्रतिनिधिसभा विघटन गरि राजनैतिक निकास दिन भएको प्रयासको स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गरि राजनैतिक निकास दिन भएको प्रयासको मातृभूमिका लागि नेपाली हार्दिक स्वागत गरेको छ । मातृभूमिका लागि नेपालीका केन्द्रिय प्रचार प्रसार बिभाग प्रमुख सुशील देवकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ “प्रजातन्त्रमा जनादेश लिने कदम सदा उपयुक्त मानिन्छ र केपी ओलीले ताजा जनादेश लिन गर्नु भएको निर्णयमा हामी सैद्धान्तिक सहमति जनाउँदछौ। संसदलाई गणितीय खेलको जुवाखाना जस्तो बनाएर अस्थिरता र अन्यौलको खेती गर्न खोज्नेहरूलाई जनादेश लिन जाने कार्य असहज र कठिन हुनसक्छ भन्ने हाम्रो ठम्याई छ। प्रजातान्त्रिक प्रक्रिया विरूद्ध अस्थिरताबादीहरूले अवान्छित गतिबिधि गर्नसक्ने र कोभिडका कारण उत्पन्न सङ्कट समाधानमा थप समस्या पैदा गर्नसक्ने सम्भावनालाई लिएर हामी चिन्तित छौँ ।
कोभिड सङ्क्रमणबाट मुलुकलाई पूर्णरूपले मूक्त गर्ने काममा सरकार केन्द्रीत रहोस्, उपचार नपाएर नागरिकको ज्यान जाने अवस्थाको अन्त्य गरोस् र आवश्यक परे स्वास्थ्य सङ्कटकाल लगाएर भएपनि जनतामा स्वास्थ्य सूरक्षाको अनुभूति सरकारले दिलाओस् भन्ने हामी चाहन्छौं ।
चुनावसम्म पुग्नु अघि बालुवाटार जमिन घोटालामा संलग्न दुई पूर्व प्रधानमन्त्रीहरू, लडाकुको नाममा चरम घोटाला गर्नेहरू , गौर नरसंहार घटनाका मुख्य दोषी लगायत पछिल्लो समयमा भएका सबै भ्रष्टाचारका घटना माथी तत्काल छानवीन गरी दोषीहरू माथी हदैसम्मको कारवाही प्रक्रिया अगाडी बढाएर सुशासनको प्रत्याभूति दिलाउन पनि हामी जोडदार माग गर्दछौं । किनभने, निर्वाचन पछि सुशासनको सुरुवात हुने सुनिश्चितताले मात्र आम जनतामा उत्साह थपिने छ । त्यस्तै राष्ट्रिय बोझ बनेको प्रादेशिक संरचना , धर्म निरपेक्षता र जातिबादमा आधारित सबै प्रकारका अवधारणा खारेज गरी नेपालको मौलिक धर्म सापेक्ष मुलुक निर्माणको प्रक्रिया सुरु गर्न पनि हामी माग गर्दछौं । दूरगामी महत्वका यस्ता कार्यले मात्र देशमा शान्ति, स्थायित्व र समृद्धिको मार्ग प्रशस्त गर्ने हाम्रो विश्वास छ। र, यस किसिमका राष्ट्रको पक्षमा गरिने हरेक कार्यमा हाम्रो सङ्गठनको साथ र सहयोग रहने विश्वास पनि हामी दिलाउन चाहन्छौं ।
जय मातृभूमि !”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्