काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहले आफूहरु नै आधिकारिक पार्टी भएको दावी गरेको छ ।
सोमबार बसेको प्रचण्ड–नेपाल समुहको केन्द्रीय समिति बैठकले यसअघि नै अध्यक्षबाट हटाइएका केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने प्रस्ताव अनुमोदन गरेको छ भने महासचिव विष्णु पौडेललाई पनि जिम्मेवारीबाट हटाएको छ ।
आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको दावी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई आधिकारिक पार्टी आफूहरु रहेको जानकारी दिँदै पत्र लेख्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।
उहाँले यसअघि आयोगले पठाएको पत्र प्राप्त भएको भन्दै फेरि पनि सबै आन्तरिक विषय खुलाएर आयोगलाई आधिकारिकता दिनका लागि पत्र लेख्ने निर्णय भएको बताउनुभयो ।
बैठकले प्रधानमन्त्री ओलीको कदमको विरोधमा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी पंक्तिलाई निर्देशन पनि दिएको छ ।