माधव–प्रचण्ड समूहको बैठक : ओलीलाई स्पष्टिकरण सोधिने, पौडेलको जिम्मेवारी खोसियो

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेपाल–दाहाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन र पार्टीमा अनुशासनहीन काम गरेकाले उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए । पार्टी विधानमा कुनै पनि सदस्यलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने व्यवस्था छ । ओलीलाई स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यबाट हटाउने तयारी नेपाल–दाहाल समूहको छ । विधानको व्यवस्थाअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको रावलले बताए ।

यसअघि पुस ७ गते बसेको नेपाल–दाहाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टीको अध्यक्षबाट हटाएर सो पदमा माधवकुमार नेपाललाई चयन गरेको थियो ।

यसबाहेक केन्द्र तथा प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको कुनै पनि जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत काम गरेमा अनुशासनको कारबाही गर्न सकिने विधानमा उल्लेख छ ।

बैठकले ओली समूहमा रहेका महासचिव विष्णु पौडेललाई जिम्मेवारीबाट हटाउने निर्णय पनि गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्