दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी

दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक रु ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरीले नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए। दानामा ७० प्रतिशत प्रयोग हुने मकै र भटमासको पिना नेपालमा नै उत्पादन गर्न सकिन्छ । मकै ३५ प्रतिशत स्वदेशी उत्पादनले धानेको भए पनि भटमासको पिना पूर्णरुपमा विदेशमा निर्भर हुनु परेको उनले जानकारी दिए ।

गत वर्षबाट सरकारले कृषि सुधार शुल्क बढाएपछि दानाको लागत मूल्य अरु थपिएको छ । मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको छ । आर्थिक वर्ष २०७३÷७४ सम्म यो शुल्क १.६ प्रतिशत मात्रै थियो । अनमोल फिड्स प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल मकै र भटमासको उत्पादनलाई नेपालमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताए । यसले कृषकको आयस्तर उकास्ने र कुखुराजन्य उत्पादनको लागत घट्ने उनको तर्क छ ।

कृषि सुधार शुल्क शून्य बनाउनुपर्ने भन्दै उनले सरकारले आत्मनिर्भर कुखुराजन्य व्यवसाय जोगाउनुपर्ने बताए । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले दानाको लागत मूल्य बढ्दा नेपालमा मासु, अण्डा र चल्लाको मूल्य पनि बढी भएको बताए । दानाको मूल्य घटाउन सके उपभोक्तालाई सस्तो मूल्यमा मासु र अण्डा उपलब्ध गराउन सकिने उनको भनाइ छ ।

स्काइलार्क दाना कम्पनीका सञ्चालकसमेत रहेका पोखरेलले कच्चा पदार्थ र तयारी दानाको भन्सार दर एउटै हुँदा नेपाली उद्योग मारमा परेको बताए । उनले भने, “मकै, भटमासजस्ता कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सकिन्छ तर त्यसो नगर्दा कुखुराजन्य पदार्थको लागत मूल्य बढ्यो र धेरै पैसा विदेसिएको छ ।” उनको कम्पनीले मात्रै वार्षिक रु एक अर्ब कच्चा पदार्थ खरीदका लागि विदेश पठाउने गरेको छ । नेपालमै उत्पादन हुने मकैको भण्डारण उपयुक्त नहुँदा र सीपको अभावमा ढुसी लागेर प्रयोग गर्न अप्ठ्यारो भएको भन्दै उहाँले सरकारले कृषकलाई भण्डारण प्रविधि उपलब्ध गराउनुपर्ने बताए ।

दाना उद्योग सङ्घ चितवनका अध्यक्ष बालचन्द्र खनालले दानाको लागत मूल्य घटाउन सरकारको सहयोग आवश्यक रहेको बताए ।

किसान दाना उद्योगका प्रबन्ध निर्देशक विनोद पोखरेलले आफूले मात्रै कच्चा पदार्थमा एक वर्षमा रु ७० करोडभन्दा बढी रकम विदेश पठाउने गरेको भन्दै नेपालमै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताए ।

नेपालमा हाल करीब ११८ वटा दाना उद्योग रहेका छन् र तीमध्ये ६० वटा हाराहारी पेलेट दाना उद्योग छन् । पेलेटका दुई भारतीय र दुई चिनियाँ लगानीका उद्योगसमेत रहेका छन् । दाना उद्योगमा मात्रै रु ४० अर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ ।

नेपालमा पहिलो पेलेट दाना उद्योग निम्बस समूह हो । प्रोबायोटेक इण्डष्ट्रिज प्रालिले सन् २००४ बाट यो उद्योग सञ्चालन गर्दै आएको छ ।

दानामा प्रयोग हुने भटमासको पिना, अमेरिका, ब्राजिललगायतका देशबाट ल्याइन्छ भने मकै मुख्यरुपमा भारत र अन्य देशबाट समेत आउने गरेको छ । दानामा मकै, भटमासका अतिरिक्त गोटी ढुटो, तोरीको पिना, क्याल्सियम र औषधि प्रयोग हुने गर्दछ । ती वस्तु पनि विदेशबाटै आयात हुने गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्