संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन् ।

चुनावको बेला स्थिरताको चर्को नारा दिएको स्मरण गराउँदै शर्माले अगाडि भनेका छन्, ‘आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ ।’ शर्माले जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द्व आफैँमा लज्जास्पद रहेको भनेका छन् ।

विज्ञप्तिमा शर्माले भनेका छन्, ‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपील गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ ।’

उनले विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा पार्टीले लिएको बताउँदै त्यसलाई असफल तुल्याइने पनि भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्