आज विजयादशमी, टीकाको उत्तम साइत १०ः११ बजे, कसरी र कहाँ फर्केर लगाउने टीका ?

विजयादशमीमा पुरुषलाई टीका लगाउँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर आशीर्वाद दिइन्छः
जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ ।

टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए ।

विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए ।

सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्