नेपाली सेनाका नयाँ अधिकृतले मूल निशानसमक्ष शपथ लिने परम्परा यस पटक स्थगन भएको छ । हरेक वर्ष बडादशैँको महानवमीका दिन नयाँ अधिकृतले शपथ लिने प्रचलन रहेकामा कोभिड–१९ बाट सिर्जित जोखिमका कारण यस वर्ष गरिएन ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हनुमानढोका क्षेत्र, कम्पुकोतस्थित नेपाली सेनाको मूल निशान(भगवती) समक्ष नयाँ अधिकृतले पद तथा गोपनीयताको शपथ लिने परम्परा थियो ।
काठमाडौँ उपत्यका बाहिर खटिने अधिकृतले अनुकूल समय मिलाएर शपथ लिने गरे पनि काठमाडाँै उपत्यकाभित्रका नयाँ अधिकृतले महानवमीकै दिन अनिवार्यरुपमा शपथ लिने चलन थियो ।
सेनाले शक्तिस्वरुपा भगवतीलाई मूल निशान मान्दैआएको छ । अधिकृत तहका लागि सेनाले सहायक सेनानी(सेकेण्ड लेफ्टिनेन्ट) मा भर्ना लिने गर्छ । सहायक सेनानीको तालीम र परीक्षा पूरा गरी पास आउट भए पनि मूल निशानसमक्ष शपथ लिएपछि मात्र पक्का अधिकृतका रुपमा स्थपित हुने मान्यता रहिआएको छ । रासस