काठमाडौं – कोरोना भाइरसको जोखिम बढ्दै गएपछि मास्कको प्रयोग नगर्नेलाई सरकारले कारवाही गर्न थालेको छ । सरकारको निर्देशन बेवास्ता गरेर मास्क नलगाई भींडभाड हुने ठाउँ र सडकमा निस्कने करिब ३ लाख ९५ हजारलाई गृह प्रशासनले कारवाही गरेको छ ।
शुक्रवार काठमाडौं उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मास्क नलगाई हिँड्नेप्रति निर्मम बन्ने निर्णय गरेको थियो ।
मास्क प्रयोग नगर्नेलाई सरकारले ठाउँको ठाउँ १ सय रुपैयाँ जारिवाना गर्ने गरेको छ । सवारी पास बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधनलाई सुरक्षाकर्मीहरुले नागढुंगा र साँगा र फर्पिङ (हुमाने भन्ज्याङ) लगायतका नाकाबाट फिर्ता गरेका छन् । लकडाउन अवधिमा अनुमतिबिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढी यात्रुलाई फिर्ता पठाइएको गृह मन्त्रालयले जनाएको छ ।