जनकपुरधाम – धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता छन् ।
धनुषाको मिथिला बिहारी नगरपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उनलाई उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
यस्तै, धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । दुवै जनाको स्वाव संकलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।