नेकपा अध्यक्षद्वय ओली र दाहालबीच आज पनि वार्ता हुने

FILE PHOTO

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज पनि वार्ता हुने भएको छ । साँझ ५ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

पछिल्लो चार दिनदेखि दुई अध्यक्षबीच निरन्तर वार्ता भइरहेको छ । दुई अध्यक्षबीच नै पार्टी तथा सरकार सञ्चालनको विषयमा मुख्य मतभेद देखिएपछि सहमतिको प्रयास स्वरुप अध्यक्षद्वयबीच वार्ता र संवाद हुँदैआएको छ । यद्यपि ठोस सहमति भइनसकेको अध्यक्षद्वयका सचिवालयको भनाइ छ ।

मङ्गलबार बालुवाटारमा भएको वार्तामा वरिष्ठ नेता झलनाथ खनाल तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङको पनि सहभागिता थियो । दुवै अध्यक्षबीच पार्टीको बैठक सञ्चालन गर्ने विषयमा वार्ता भएपनि ठोस सहमति हुन नसकेको बैठकमा सहभागी नेताहरूले बताएका थिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले विवादित विषयलाई सल्टाउन सचिवालय बैठक बोलाएर समाधान खोज्नुपर्ने भनेका छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने अडान राखेका थिए । स्थायी कमिटी बैठक अझै मुल एजेण्डामा प्रवेश नै नपाएको भन्दै छिटो बैठक आह्वान हुनुपर्ने अध्यक्ष प्रचण्डको माग छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्