काठमाडौं – नेकपा स्थायी कमिटीको बैठकले नयाँ मोड लिएका छ । पार्टीभित्रको विवाद अब स्थायी कमिटीबाट केन्द्रीय कमिटीमा सर्ने भएको छ ।
विहीबार बेलुका लगभग एकैसाथ प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटारमा दुई समूहका बेग्लाबेग्लै बैठकहरु भए । सचिवालय र स्थायी कमिटीका बहुमत सदस्य सम्मिलित खुमलटार बैठकले भदौमा केन्द्रीय कमिटीको बैठक बोलाउने निचोड निकालेको छ । बालुवाटार बैठकको रणनीति भने रातिसम्म बाहिर आइसकेको छैन । भदौमा केन्द्रीय कमिटीको बैठक बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमत भएका छन् ।
असार १० मा सुरु भएको स्थायी कमिटीको बैठक असार तेस्रो सातादेखि बस्न सकेको छैन । दुई अध्यक्षवीच सहमति जुटाउनका लागि भन्दै साउन २ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । शुक्रबार बस्ने स्थायी कमिटी बैठकबारे प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न विहीबार दिउँसो कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका थिए ।
बालुवाटारको छलफलमा प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री ओलीलाई समस्या समाधानका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तपाईकै कारण सरकार र पार्टी दुबै बदनाम भयो भन्दै नेताद्वयले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई आग्रह गरेका थिए । तर, प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै नछाड्ने अडान राखेका थिए ।
त्यसलगत्तै माधव नेपाल र प्रचण्ड समूहका नेताहरु बेलुका खुमलटारमा भेला भए ।
सचिवालय र स्थायी कमिटीका बहुमत नेताहरुको सो भेलाले अब केन्द्रीय कमिटीको बैठक बोलाउने र स्थायी कमिटीमा विचाराधीन एजेण्डाहरु केन्द्रीय कमिटीमा लैजाने निश्कर्ष निकालेको छ ।
स्थायी कमिटीको बैठकले कोरोना रोकथामसम्बन्धी सरकारले गरेका कामको समीक्षा सरकारको मूल्यांकन, पार्टी कामहरुको समीक्षा, एमसीसी सम्झौता, नागरिकता विधेयक, सीमा समस्या आदि एजेण्डाहरु तय गरेको थियो ।
सीमा समस्याबारे एक दिन छलफल भए पनि अरु एजेण्डामा अहिलेसम्म छलफलै हुन नसकी स्थायी कमिटी बैठक लगभग असफल बनेको छ ।
स्थायी कमिटीको बैठक चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजक अभिव्यक्तिका कारण बैठक भाँडिएको हो । प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन खोजेको र पार्टीकै नेताहरु त्यस खेलमा लागेको अभिव्यक्ति दिएपछि स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।
फाइल तस्बिर