काठमाडौं – भोली बैठक नरोक्ने सहमति गर्दै नेकपाको स्थायी समिति बैठक बिना निष्कर्ष टुंगिएको छ । करीव तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपालसहितका अन्य नेताहरुबीच भएको छलफलमा मुख्य विषयमा सहमति भएन ।
नेताहरुबीचको छलफल ठोस निष्कर्षमा नपुगेको वार्तामा सहभागी महासचिव विष्णु पौडेलले बताए । छलफल सकारात्मक रहेको र शुक्रबारको बैठक नरोकिने उनले जानकारी दिए । सो छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपालसहित वार्ता भएको हो । प्रचण्ड र माधव नेपाल दुवैजनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका छन् भने ओलीले राजिनामा नदिन अडान कायमै राखेका छन् । त्यसैले तीन नेता सहितको छलफल सहमतिबिना टुंगिएको हो ।