प्रदेश नं. १ मा बाढी पहिरोमा परि १३ जना बेपत्ता, ३ जनाको जिवितै उद्धार

विराटनगर – शुक्रबारयताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ११ जना र बाढीले बगाउँदा २ जना बेपत्ता भएका हुन् ।

आइतबार बिहान करिब २ बजे राति संखुवासभा सिलिचोङ गाउँपालिका– १ को बेसिन्दा भन्ने स्थानमा पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । बेसिन्दामा ९ वटा घर पहिरोले बगाएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर राईका अनुसार पहिरोमा पुरिएका तीनजनाको जिवितै उद्धार भएको छ । बेपत्ताको खोजीकार्य जारी छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार सिलिचोङको पहिरो गएको स्थानमा स्थानीय मदन राईको मृत्यु भएको छ । पहिरोमा परेकाहरुको उद्धारमा खटिएका राईको बिहान करिब साढे ११ बजेको समयमा मृत्यु भएको हो ।

आइतबार बिहान सप्तकोशी नदीमा १३ वर्षिय बालक बेपत्ता भएका छन । आइतबार बिहान सप्तकोशीमा बाढीसँगै आएको दाउरा निकाल्न नदीमा पसेका १३ वर्षिय अनिल बस्नेत बेपत्ता भएका हुन ।

सुनसरी बराहक्षेत्र नगरपालिका– ६ बोराबानमा कोशी किनारा स्थित दाउरा खोज्ने क्रममा देवीघाट बस्ने गौवाबहादुर बस्नेतका छोरा अनिल दाउरा निकाल्न खोज्दा नदीले बगाएको थियो । शनिबार दिउँसो झापाको भद्रपुरका ३३ वर्षीय पुरुष मेची खोलामा बेपत्ता भएका छन । भद्रपुर नगरपालिका– ३ नाउगाटका राई नुहाउने क्रममा बेपत्ता भएका हुन । तीन स्थानमा बेपत्ता भएका १३ जनाको खोजी कार्य जारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्