काठमाण्डौ – प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहको दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले नेपालमा सतर्कता अपनाउन र पूर्वतयारी गर्न केन्द्रले अनुरोध गरेको हो ।
केन्द्रले जरुरी सूचना निकालेर ती झुण्ड एकरदुई दिनभित्रै धनुषा, सर्लाही तथा महोत्तरी आसपासबाट नेपाल प्रवेश गर्ने सम्भावना रहेको बताएको छ । यस्तै राजस्थानको विभिन्न ठाउँमा रहेका विभिन्न झुण्ड पनि दुई तीन दिनभित्र प्रदेश पाँच र सुदूरपश्चिम प्रदेश हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको केन्द्रले जनाएको छ ।
नेपालमा आगामी सोमबारसम्म पानी पर्ने सम्भावना रहेकोले सलह आइपुग्न केही अवरोध पर्ने देखिए पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना धेरै रहेको भन्दै केन्द्रले नियमित निगरानी र सावधानी अपनाउन आग्रह गरेको छ ।