काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आज बस्दैछ ।
नेकपामा आन्तरिक विवाद बढेपछि असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि भन्दै गएको आइतबारका लागि तोकेकामा पुनः स्थगन भई आजका लागि तोकिएको हो ।
यसैबीच आन्तरिक विवादमा सहमति खोज्न मंगलबारपनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भयो । झण्डै तीन घण्टा चलेको दुई अध्यक्ष बीचको भेटवार्ता सकारात्मक भएको प्रचण्डका प्रेस संयोजक बिष्णुप्रसाद सापकोटाले जानकारी दिए । अध्यक्षद्वयबीच असार १९ गते अन्य केही नेतासहित भएको छलफल सकारात्मक भएपछि दैनिकजसो भेटवार्ता भैहेको छ ।