स्नातक तहकाे पढाइ निःशुल्क, बाहिर जिल्लाकाे विद्यार्थीलाई ५० प्रतिशत छुट

धुलिखेल नगरपालिकाका बासिन्दाले निःशुल्क स्नातक तह पढ्न पाउने भएका छन् । नगरलाई शैक्षिक हबका रूपमा अगाडि बढाउन लागेको धुलिखेलले आर्थिक वर्ष २०७७/७८ बाट निःशुल्क स्नातक तह सुरु गर्ने भएको हो ।
धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार व्याञ्जूले नगरभित्र रहेको धुलिखेल क्याम्पस र सञ्जिवनी क्याम्पसमा स्नातक तहमा पढ्ने नगरभित्रका सबै विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरको सातौँ नगर सभाले उक्त निर्णय गरेको हो । नगरका १२ वटै वडाका बासिन्दाले यो सुविधा पाउनका लागि नगरमा रहेका दुई क्याम्पसमा अनिवार्य पढाउनुपर्ने छ ।
त्यस्तै नगर सभाले काभ्रेपलाञ्चोक जिल्लाका अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट समेत धुलिखेल क्याम्पस र सञ्जिवनी क्याम्पसमा पढ्न आएमा ५० प्रतिशत छुट दिने भएको छ ।
धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि नगरले उक्त निर्णय गरेको जानकारी दिए। हामीले भर्ना भएको विद्यार्थीको ७० प्रतिशत हाजिरी भएमा मात्र सेवा पाउने व्यवस्था मिलाएका छौँ । भर्ना हुने र पछि परीक्षा मात्र दिनेलाई यो सुविधा उपलब्ध हुने छैन, उनले भने । धुलिखेलले विशेष गरी आर्थिक अवस्था कमजोर रहेकालाई प्रोत्साहन र नगरभित्रका विद्यार्थीलाई बाहिर जान नपरोस् भनेर यो नीति लिएको शर्माले जानकारी दिए ।
जुनसुकै जिल्लाको विद्यार्थी भए पनि ५० प्रतिशत छुट दिने भएको छ । उच्च शिक्षामा सबै समुदायका विद्यार्थीको पहुँच पुर्याउन, शैक्षिक गुणस्तरमा सुधार ल्याउन र प्रतिस्पर्धात्मक प्रणालीको विकास गर्न नगरपालिकाले विशेष महत्वका साथ कार्यक्रम सञ्चालन गर्न लागेको शिक्षा प्रमुख शर्माले बताए ।
धुलिखेल र सञ्जिवनी क्याम्पसमा शिक्षा र व्यवस्थापन विषयको पढाइ हुँदै आएको छ । हाल स्नातक तहमा ३७० जना विद्यार्थी अध्ययनरत छन् । नगरले यस आर्थिक वर्षमा ३७० जना विद्यार्थीलाई निःशुल्क पढाउने लक्ष्य लिएको शिक्षा शाखाले जनाएको छ । गाेरखापत्र अनलाइन

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्