काठमाडौं – रोल्पामा बुधबार आत्महत्या गरेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै रहेको आफ्नै गोठमा एक्लै बस्दै आएका थिए ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए । मृत्युपछि उनको स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । संक्रमण पुष्टि भएका युवकको शव पोष्टमार्टम गर्ने क्रममा राप्ती प्रादेशिक अस्पतालको शव गृहमै रहेका कारण शवको व्यवस्थापन दाङमै गर्नका लागि समन्वय भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।