प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले असार २४ पछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकास पाउने भएपछि अबको सात दिनमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदैछ ।
हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाल अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । यी तीनमध्ये लम्साल आईजिपी ज्ञवालीकै ब्याचका भएकाले उनले पनि सेवा हदका कारण असार २४ मा अनिवार्य अवकास पाउँदैछन् । त्यसैले क्षत्री र पालमध्येबाट एक जनाले उक्त अवधिपछि प्रहरीको नेतृत्व गर्नेछन् ।
चार वर्ष यता प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट एकै पटक आईजीपीमा बढुवा गरिँदै आएकोमा बल्ल एआईजीबाट आईजीपीमा बढुवा हुने अवसर प्राप्त भएको हो । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आईजीपी ज्ञवालीले एआइजीको अनुभव हासिल गर्न पाएनन् ।
२०७० मंसिरमा आईजीपी बनेका उपेन्द्रकान्त अर्यालले १४ दिनमात्रै एआईजीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रहरीको २५ औं महानिरीक्षक बनेका प्रकाश अर्याल डिआईजीबाट सिधै आईजीपी बनेका हुन् । आईजीपी हुनुअगाडि अर्यालले करिब ४ वर्ष ४ महिनासम्म डिआईजीको जिम्मेवारी सम्हालेका थिए ।