जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड नाघ्याे, सरदर आयु ६७ वर्ष

जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो ।

‘अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको हो । बसाइँसराइँ, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ । त्यसैअनुसार देशको जनसंख्या आजबाट तीन करोड नाघेको छ ।’ मध्यजनसंख्या सिद्धान्तअनुसार हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गर्ने गरिन्छ । निर्धारित जनसंख्या सूत्रानुसार दैनिक औसत एक हजारदेखि एघार सय जनाका दरले यो संख्या बढ्दो छ ।

कुनै पनि व्यक्ति अक्सर बसोबास (६ महिनाभन्दा बढी) गरेको स्थानबाट उसको गणना गर्ने गरिन्छ । ०६८ को तथ्याङ्कमा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला छन् । त्यसैगरी पुरुष ४८ दशमलव ५ प्रतिशत छन् । जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको देखाएको छ ।

मृत्युदर पनि उस्तै घटेको छ । अहिलेको तथ्यांकअनुसार सरदर आयु करिब ६७ वर्ष रहेको छ । जसमा महिलाको ६८ वर्ष र पुरुषको आयु ६५ वर्ष छ ।

अघिल्लो दश वर्षको तुलनामा जनसंख्या बढे पनि मुलुकको २७ जिल्लामा जनसंख्या घटेको छ । दश वर्षको अन्तरमा सहरमा बसोबास गर्ने जनसंख्या १३ दशमलव ९ बाट बढेर १७ दशमलव ०७ प्रतिशत पुगेको छ ।

१९६८ सालदेखि हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागले आउँदो वर्ष १२औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म सम्पन्न गर्ने तयारी गरेको छ ।
घडीको यही सूत्रका आधारमा असार ८ गतेसम्म देशको कुल जनसख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना पुग्ने छ । त्यसमा १ करोड ५६ लाख ४३ हजार ८ सय ५३ महिला हुनेछन् । त्यसैगरी पुरुषको संख्या १ करोड ४७ लाख ३४ हजार २ सय १ जना हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्