काठमाडौं । करिब चार वर्षदेखि सरकारी समर्थन मूल्य स्थिर रहँदा उत्पादन लागत बढेको भन्दै दुग्ध उत्पादक किसानले दूधको मूल्य तत्काल बढाउन माग गरेका छन्। केन्द्रीय दुग्ध सहकारी संघले किसानले पाउने मूल्य प्रतिलिटर कम्तीमा १० रुपैयाँ वृद्धि गर्नुपर्ने माग गरेको छ।
सरकारले २०७९ फागुनदेखि ४ युनिट फ्याट र ८ प्रतिशत एसएनएफ भएको कच्चा दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ६५ रुपैयाँ निर्धारण गरेको थियो। त्यसयता दाना, चोकर, औषधि उपचार तथा ढुवानी खर्च बढे पनि सरकारी समर्थन मूल्य समायोजन हुन सकेको छैन। दुग्ध विकास संस्थानले भने असारदेखि किसानलाई दिने दरमा प्रतिलिटर एक रुपैयाँ थपेर ६६ रुपैयाँ पुर्याएको छ।
केन्द्रीय दुग्ध सहकारी संघका महासचिव राम आचार्यले किसानको उत्पादन लागतअनुसार १० रुपैयाँले पनि नपुग्ने भए पनि उपभोक्ताको क्रयशक्तिलाई ध्यानमा राखेर कम्तीमा प्रतिलिटर १० रुपैयाँ वृद्धि हुनुपर्ने बताए। सरकारले छिट्टै मूल्य नबढाए किसान आन्दोलनमा उत्रिन बाध्य हुने उनको चेतावनी छ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले पनि किसान र उद्योगी दुवैको लागत बढेकाले दूधको मूल्य समायोजन आवश्यक रहेको बताएका छन्। उनका अनुसार अध्ययनमा उद्योगी र किसान दुवैको लागत प्रतिलिटर करिब १४ रुपैयाँ हाराहारी देखिएको छ। तर, मूल्य निर्धारण गर्दा भारतको बजार दरसँग समेत तालमेल मिलाउनुपर्ने उनको भनाइ छ।
यसैबीच, राष्ट्रिय दुग्ध विकास बोर्डले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थलगत अध्ययन गरी दूधको मूल्य बढाउनुपर्ने निष्कर्षसहित प्रतिवेदन कृषि, वन तथा पर्यावरण मन्त्रालयमा बुझाइसकेको छ। बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले उत्पादन लागत बढेको तथ्य र सरोकारवालाको माग मन्त्रालयसमक्ष प्रस्तुत गरिसकेको जानकारी दिए।
मन्त्रालयका सूचना अधिकारी डा. मणिरत्न अर्यालका अनुसार दूधको मूल्य समायोजनसम्बन्धी प्रस्ताव तयार पार्ने विषयमा आन्तरिक छलफल भइरहेको छ। प्रस्तावलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको उनले बताए।
बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा देशभर करिब २ अर्ब ५३ करोड ७८ लाख लिटर दूध उत्पादन भएकोमा २०८१/८२ मा बढेर करिब २ अर्ब ६३ करोड ९० लाख लिटर पुगेको छ। उत्पादन बढ्दै गए पनि किसानले पाउने मूल्य समायोजन नहुँदा दुग्ध क्षेत्रका सरोकारवालाले सरकारसँग तत्काल निर्णय गर्न माग गरेका छन्।






