कांग्रेस बैठकमा संगठन सुधारदेखि स्थानीय निर्वाचनको तयारीसम्म बहस

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी संगठनको पुनर्संरचना, आन्तरिक गुटबन्दी अन्त्य, स्थानीय निर्वाचनको तयारी, उम्मेदवार छनोटमा पारदर्शिता र सरकारमाथि खबरदारी गर्नुपर्ने विषयले प्राथमिकता पाएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले कांग्रेसलाई नागरिकका दैनिक समस्यासँग जोड्दै कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। महामन्त्री प्रदीप पौडेलले वडा तहका बैठकमा स्थानीय नागरिकका कम्तीमा तीनवटा समस्या अनिवार्य एजेन्डा बनाउनुपर्ने प्रस्ताव गर्दै पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्नुपर्ने बताए। उनले सरकारको कार्यशैली, महँगी र विभिन्न आयोजनामा देखिएका अनियमितताका विषयमा कांग्रेसले सशक्त आवाज उठाउनुपर्ने धारणा राखे।

अर्की महामन्त्री डा. डिला संग्रौलाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै ‘हामी तयार छौं’ अभियानलाई देशभरका ६ हजार ७४३ वटै वडा र बुथ तहसम्म विस्तार गर्नुपर्ने बताइन्। उनले बुथ समिति अद्यावधिक, क्रियाशील सदस्यता वितरणमा पारदर्शिता र घरघरमा पुगेर जनसम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिइन्।

बैठकमा केन्द्रीय सदस्य नीलकण्ठ रिजालले पार्टीभित्रको गुटबन्दी अन्त्य, जिम्मेवारी बाँडफाँटमा न्याय र आर्थिक चलखेलरहित टिकट वितरणको व्यवस्था गर्नुपर्ने बताए। उनले स्थानीय निर्वाचनका उम्मेदवार केन्द्रबाट छनोट गर्ने परम्परा अन्त्य गरी स्थानीय नेता तथा कार्यकर्ताबाट पारदर्शी विधिमार्फत उम्मेदवार चयन गर्नुपर्ने प्रस्ताव गरे। त्यस्तै, केन्द्रीय सदस्य डा. शोभाकर पराजुलीले कांग्रेसले राष्ट्रिय दायित्व निर्वाह गर्दै सरकार, संसद्, अदालत र संवैधानिक निकायको कामकारबाहीमाथि लोकतान्त्रिक विधिअनुसार निरन्तर खबरदारी गर्नुपर्ने बताए। उनले छाया सरकारलाई प्रभावकारी बनाउने र नयाँ पुस्तालाई लोकतन्त्रबारे शिक्षित गर्ने काममा पनि जोड दिए।

केन्द्रीय सदस्य डा. कृष्णप्रसाद पौडेलले कांग्रेसलाई नयाँ नारा मात्र नभई नयाँ कार्यशैली आवश्यक रहेको बताए। उनले सरकारका नीति, बजेट तथा कार्यक्रमको नियमित समीक्षा गर्ने संयन्त्र बनाउनुपर्ने र आगामी निर्वाचनमा उम्मेदवार छनोटदेखि प्रचारप्रसारसम्म स्थानीय तहलाई थप अधिकार दिनुपर्ने धारणा राखे। यसैगरी, केन्द्रीय सदस्य विद्वान गुरुङले पार्टीका सार्वजनिक तथा संगठनात्मक कार्यक्रममा चारतारे झण्डा र रुख चिह्नलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पार्टीको दृश्य पहिचान र प्रचारशैलीमा एकरूपता कायम गर्नुपर्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्