बालविवाह अन्त्यका लागि सञ्चारकर्मी र सरोकारवालाको साझा प्रतिबद्धता

ललितपुर – बालविवाह अन्त्यका लागि सञ्चारकर्मी तथा सरोकारवालाहरूले साझा प्रतिबद्धता जनाएका छन्। संयुक्त राष्ट्रसङ्घद्वारा घोषित प्रथम अन्तर्राष्ट्रिय बालविवाहविरुद्धको दिवसका अवसरमा शुक्रबार ललितपुरको जावलाखेलस्थित सञ्चार रजिष्ट्रारको कार्यालयमा आयोजित संवाद कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

भ्वाइस अफ चिल्ड्रेन र सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशको आयोजना तथा जस्ट राइट्स फर चिल्ड्रेनको सहकार्यमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सञ्चारकर्मी, बालअधिकारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बालविवाहका कारण, यसको न्यूनीकरणका उपाय तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिकाबारे छलफल गरिएको थियो। नेपालको कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको भए पनि बालविवाहको समस्या कायम रहेकाले सरकार, नागरिक समाज र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले औँल्याएका थिए।

राष्ट्रिय जनगणना २०७८ तथा नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०७९ को तथ्याङ्कअनुसार २० देखि २४ वर्ष उमेर समूहका ३४.९ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ। गरिबी, विद्यालय छाड्ने अवस्था, सामाजिक अन्धविश्वास तथा सामाजिक सञ्जालको दुरुपयोग बालविवाहका प्रमुख कारणका रूपमा छलफल गरिएको थियो। कार्यक्रममा सञ्चारकर्मीहरूले बालविवाहविरुद्ध सचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने, पीडित बालबालिकाको गोपनीयता र मर्यादा कायम राख्ने तथा स्थानीय तहका बालअधिकार समिति, विद्यालय, प्रहरी र नागरिक समाजबीच समन्वय बढाउन पैरवी गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै, सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले बालअधिकार संरक्षण र बालविवाहविरुद्ध जनचेतना अभिवृद्धिका लागि प्रदेशका सञ्चार गृह तथा पत्रकारहरूको क्षमता विकास र सार्वजनिक हितका सामग्री प्रसारणमा सहजीकरण गर्ने जनाएको छ। सहभागीहरूले बाल हेल्पलाइन १०९८ र राष्ट्रिय महिला आयोगको हेल्पलाइन ११४५ लगायतका सेवा तथा कानुनी व्यवस्थाबारे समुदायस्तरसम्म जानकारी पुर्‍याउनुपर्नेमा जोड दिएका थिए। सन् २०३० सम्म बालविवाहमुक्त विश्व निर्माण गर्ने लक्ष्य हासिल गर्न सञ्चारकर्मी र सरोकारवालाबीचको सहकार्यलाई निरन्तरता दिने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्