थरिन्दुको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएल फाइनलमा

काठमाडौं – चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेले अलराउन्ड प्रदर्शन गर्दै ५३ रन बनाउनुका साथै २ विकेट लिए। उहाँले ४२ बलमा ७ चौका प्रहार गर्दै अविजित रहनुभयो। थरिन्दुले नै विजयी चौका प्रहार गर्नुभएको थियो। विनोद भण्डारीले २३, कप्तान दीपेन्द्रसिंह ऐरीले १५ र आरिफ शेखले १० रन बनाए। चितवनका रञ्जित कुमारले २ तथा अन्य बलरले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका लागि डाविन मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रन बनाउनुभयो। सलाउद्दिन खानले १८ र कमलसिंह ऐरीले १० रन जोडे। सुदूरपश्चिमका स्कट कुगेलाइनले ३ तथा थरिन्दु रत्नायकेले २ विकेट लिनुभयो।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनल यात्रा तय गरेको हो। अब सुदूरपश्चिमले उपाधिका लागि आगामी शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्