काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालको समेत संलग्नता देखिएको प्रहरी अनुसन्धान स्रोतले जनाएको छ। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र हाल उनी फरार रहेको उच्च स्रोतलाई उद्धृत गर्दै समाचार सार्वजनिक भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गर्ने क्रममा अर्यालको कनेक्सन देखिएको बताइएको छ। प्रकरणसँग सम्बन्धित कागजातमाथि अनुसन्धान अघि बढेपछि उनी सम्पर्कविहीन भएको उच्च स्रोतको दाबी छ।
यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित छ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
यसअघि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का रामपुकार तिवारी छन्।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो।
सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्रभन्दा बाहिर गई विदेशी मुद्रा अपचलन गराउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ। श्रमिकमाथि संगठित रूपमा ठगी हुँदा मौन बसेको, कानुनी उपचारका लागि पहल नगरेको र गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा सहभागी भएको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




