एमाले फेरि सिंहदरबार प्रवेश गर्छ, समृद्धि ल्याएरै छाड्छौँ : ओली

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गर्दै देशमा विकास र समृद्धि ल्याउने बताएका छन्। उनले एमालेको राजनीतिक शक्ति र जनाधारलाई कमजोर नआँक्न विपक्षीहरूलाई चेतावनीसमेत दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले फेरि सिंहदरबार प्रवेश गर्ने दाबी गरे। “हेक्का रहोस्, एमाले मूल ढोकाबाट सिंहदरबार पस्छ र समृद्धि ल्याएरै छोड्छ,” उनले भने।

ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सम्भावित राजनीतिक आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। वर्तमान सरकारले राजनीतिक प्रतिशोधका आधारमा नेताकार्यकर्तालाई पक्राउ गर्न वा आक्रमण गर्न सक्ने आशंका व्यक्त गर्दै उनले जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन आग्रह गरे।

उनले सरकार संविधान, कानुन र राजनीतिक मर्यादाअनुसार सञ्चालन नभएको आरोपसमेत लगाए। आवश्यक परे आन्दोलनमा उत्रिनुपर्ने भन्दै उनले कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन्।

आफूलाई पक्राउ गर्न सक्ने सम्भावनाबारे चर्चा गर्दै ओलीले त्यस्तो अवस्था आए एमाले चुप लागेर नबस्ने बताए। उनले विगतका प्रदर्शनभन्दा यसपटक ठूलो सङ्ख्यामा कार्यकर्ता सडकमा उत्रिने दाबी गरे।

ओलीले नयाँ प्रहरी महानिरीक्षकले आफू, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थुनिदिने प्रतिबद्धता जनाएको जिकिरसमेत गरे। यद्यपि, उनले आफ्नो दाबीको आधार भने खुलाएनन्।

आफ्नो पार्टी जनताको समर्थन र राजनीतिक संघर्षबाट सरकारमा पुगेको उल्लेख गर्दै ओलीले एमाले कसैको कृपाले सत्तामा नपुगेको बताए। “संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ, जनताको कृपाले गएका हौँ,” उनले भने।

राष्ट्रिय कार्यकर्ता भेलामार्फत ओलीले पार्टीलाई आगामी राजनीतिक प्रतिस्पर्धाका लागि तयार रहन निर्देशन दिँदै आवश्यक परे सरकारविरुद्ध आन्दोलनमा उत्रिने संकेत गरेका छन्। उनको सम्बोधनमा एमालेको पुनरागमन, सरकारको आलोचना र राजनीतिक संघर्षका विषय प्रमुख रूपमा उठेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्