दार्चुलाको प्रसिद्ध जयपुर जात्रा आज राति, हजारौँ भक्तजन पुग्दै

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका-५ स्थित जयपुरको प्रसिद्ध लटिनाथ मन्दिरमा आज राति रात्रिकालीन जात्रा लाग्ने भएको छ। कार्तिक शुक्ल नवमीका अवसरमा लाग्ने जात्रामा सहभागी हुन दार्चुलासहित बैतडी र भारतको पिथौरागढबाट हजारौँ भक्तजन तथा दर्शक जयपुर पुग्ने क्रम जारी छ।

बुधबार बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थी, व्यापारी र दर्शकको चहलपहल बढेको छ। जात्रामा सहभागी हुन आउने मानिसहरूको सङ्ख्या बढेसँगै जयपुर क्षेत्र उत्सवमय बनेको छ।

आज रातभर मन्दिरमा पूजाआजा, दामाहा तथा अन्य परम्परागत बाजागाजा बजाउने र विभिन्न सांस्कृतिक खेलहरू प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। देउडा, ठाडो खेल, ढुस्कु, धुमारलगायत सुदूरपश्चिमको मौलिक लोकसंस्कृति झल्काउने गतिविधि जात्राका मुख्य आकर्षण रहनेछन्। आइतबार बिहानसम्म पनि पूजाआजा र सांस्कृतिक गतिविधि जारी रहने गर्दछ।

जयपुर जात्रामा पूजाआजा तथा आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। जात्राको अवसरमा व्यापार व्यवसायका लागि सयौँ व्यापारीले होटल तथा पसल सञ्चालन गरेका छन्। काठका भाँडाकुँडादेखि खाद्यवस्तुसम्मका सामग्री बिक्रीका लागि राखिएका छन्।

रात्रिकालीन जात्रामा हजारौँ मानिसको उपस्थिति रहने भएकाले शान्ति सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मी तथा जात्रा व्यवस्थापन समिति सक्रिय रहेको आयोजकले जनाएको छ।

लटिनाथ देवताको पौराणिक इतिहास

लटिनाथलाइ सौतेनी आमाहरूले षड्यन्त्रपूर्वक जन्मने वित्तिकै खोलामा बगाइ दिएका थिए त्यसपश्चात माझीले फेला पारी घरमा लगेर पालन पोषण गरेको र ठूलो भएपछि यिनी मार्माको तलैमाडाँैमा लटिनाथको रूपमा अवतार भएको पाइन्छ । मालिकार्जुनले छिपलाकी रानी भागाश्री अपहरण गरेपछि मालिकार्जुन माथि छिपलाले आक्रमण गरेका थिए । सो आक्रमण भएपछि लटिनाथले मालिकार्जुनको विजयमा ठूलो भूमिका खेलेको पाइन्छ । मालिकार्जुन र भागाश्री भागेर शिखर स्थित डाँडामा निगलाको घारीमुनि लुकेर बसेको र छिपलासँग प्रत्याक्रमणको कुनै तयारी नभएको अवस्थामा थकित र दुःखित हुँदै लटिनालाइ नदीमा बगाएको गलैनाथ नाबालक भएको अवस्थामा मलाइ कसले सहयोग गर्ला भनी मालिकार्जुनले विलाप गर्न थाले ।

यस प्रकार मालिकार्जुन संकटमा परी दुःखित भइराखेको छिपलाको सौजन्यले घेराउ गरी आक्रमण गरिराखेको थाहा पाए पछि मार्माको तलैमाण्डौबाट आफैँ सेनापति बनी अन्य देवतालाइ सहयोगी बनाइ युद्व गर्न लटिनाथ शिखर पुगेका थिए रे । शिखर डाँडामा मालिकार्जुनलाइ जानकारी गराइ शिखर डाँडाबाटै युद्व गर्न थाले । छिपलाको फौजले शिखरमा चढ्न अपठ्यारो भएकाले मालिकार्जुन बस्ने ठाउँमा पत्ता लगाउन देथलीमा पानीको ठूलो तलाउ बनाएका थिए । जसमा सूर्यको किरण प्रत्यावर्तन भइ शिखर डाँडामा पर्ने उक्त किरणले मालिकार्जुन बसेको ठाँउमा निसाना बनाइ हतियार प्रहार गर्न सजिलो भएको थियो ।

सो कुरा लटिनाथले थाहा पाइ शिखर डाँडाबाटै फलामको त्रिशुल प्रहार गरी उक्त दहको दक्षिण तिरको भाग भत्काइ दिए । जसले गर्दा पानी बाढीको रूपमा बग्न थाल्यो र तलाउ भत्कियो । तलाउ भत्काएको आक्रोशमा छिपलाबाट लटिनाथको सेना रहेको ठाँउ जयपुर र बन्तोलीमा तोप र गमलोडा प्रहार गर्न थाले । छिपलाको बम नदीको किनारामा गम्लोडा प्रहारबाट शिखर डाँडामा पहिरो समेत जान थाल्यो त्यसको प्रतिकारमा लटिनाथले तलतिर आएको पहिरोलाइ रोकि दिएकाले छिपलाको आक्रमण निरस्त पारेको पाइन्छ । त्यसैले आजपनि लटिनाथको प्रसंसा गर्दा तल बग्ने पहिरो माथि फर्काउने बीर (उना पैरा उब फर्काउन्या वीर) भनी प्रशंसा युक्त सम्बोधन गरिन्छ ।

नोट : यो इतिहास स्थानीय बुढापाखाहरुको भनाइलाई आधार मानि तयार पारिएको हाे । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्