काठमाडौं । निरोशन डिकवेलाको अविजित अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। योसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा पुगेको छ र उपाधि रक्षा गर्ने अभियानमा एक कदम नजिक पुगेको छ।
लुम्बिनीको जितमा विकेटकिपर निरोशन डिकवेलाले उत्कृष्ट ब्याटिङ गर्दै ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए। कप्तान रोहित पौडेलले २८ बलमा २१ रनको योगदान गरे। २४ रनमै २ विकेट गुमाएको लुम्बिनीलाई डिकवेला र रोहितले ३८ रनको साझेदारी गर्दै सम्हालेका थिए। दिलीप नाथ १० रनमा अविजित रहे।
सुदूरपश्चिमका थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १–१ विकेट लिए।
त्यसअघि टस जितेर बलिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रनमा रोकेको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। इशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन जोडे।
सुरुवातमै खराब ब्याटिङ गरेको सुदूरपश्चिमले ३.१ ओभरमा ८ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो। जर्ज मन्से पहिलो बलमै आउट भए भने तानुका दबारे र विनोद भण्डारी पनि सस्तैमा आउट भए। त्यसपछि दीपेन्द्र र इशानले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स सम्हालेका थिए।
इशान रनआउट भएपछि सुदूरपश्चिमले पुनः लगातार विकेट गुमायो। थरिन्दु रत्नायके, आरिफ शेख र स्कट कुगेलेइन पनि सस्तैमा आउट भए। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए। शेर मल्लले पनि २ विकेट लिँदा किशोर महतो र अभिषेक गौतमले १–१ विकेट लिए।
पराजित भए पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना कायम छ। उसले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। बुधबार हुने एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।




