घोप्टेभीरमा फेरि सुक्खा पहिरो, पृथ्वी राजमार्ग पुनः अवरुद्ध

चितवन । चितवनको मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा फेरि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार बिहान करिब पौने ४ बजे पहिरो खसेपछि राजमार्गको दुवैतर्फको यातायात पूर्ण रूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक द्वारिका खवासका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

घोप्टेभीरमा केही दिनयता लगातार पहिरो खसिरहेको छ । आइतबार, सोमबार र मंगलबार पनि सोही स्थानमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । मंगलबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि बुधबार बिहान पुनः पहिरो खसेपछि यातायात ठप्प भएको हो ।

पटक–पटक पहिरो खस्दा तिहार मनाउन गन्तव्यतर्फ जाने तथा काठमाडौं आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन् । पहिरोका कारण मुग्लिन हुँदै संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन बाटोमै रोकिएका छन् ।

लगातार पहिरो खस्ने क्रम नरोकिएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकले सास्ती व्यहोर्नुपरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्