विराटनगरसँग जनकपुर २ रनले पराजित, रोमाञ्चक खेलमा रसेलको अलराउन्ड प्रदर्शन

तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए। विशाल सुश्लिङले ४३ तथा जेम्स निशमले २७ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्। विराटनगरका आन्द्रे रसेलले चार विकेट लिए भने एन्जेलो म्याथ्युजले दुई विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो। विराटनगरका इमरान शेखले ५६ रन बनाए भने लोकेश बमले ५० रनको योगदान दिए। आन्द्रे रसेल ५२ रनमा अविजित रहे। जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए। यो जितसँगै विराटनगर चार खेलबाट चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान चार खेलबाट चार अंक जोडेको जनकपुर नेट रनरेटका आधारमा तेस्रो स्थानमा रहेको छ।

एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। दुई खेल खेलेको लुम्बिनीले एकमा जित र एकमा हार बेहोरेको छ। पोखराले भने यसअघिका दुवै खेलमा पराजय भोगेको छ। आठ टोली सहभागी तेस्रो संस्करणको एनपीएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्