प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ६० करोड ३७ लाख

काठमाडौं – प्रभु बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.१० प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ५५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) मा आएको कमीले मुख्य भूमिका खेलेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जा नोक्सानी व्यवस्थापनका लागि करिब १ अर्ब रुपैयाँ छुट्याएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा उक्त रकम घटाएर ५८ करोड ८६ लाख रुपैयाँमा सीमित गरेको छ। प्रोभिजनिङ घट्दा बैंकको नाफामा सुधार आएको हो।

यद्यपि बैंकको ब्याज आम्दानी भने घटेको छ। असोज मसान्तसम्म बैंकको ब्याज आम्दानी १९.३८ प्रतिशतले घटेर २ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो। बैंकको खराब कर्जा अनुपातमा भने उल्लेख्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.७८ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा (एनपीएल) अनुपात चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर १४.८० प्रतिशत पुगेको छ। यद्यपि २०८३ असार मसान्तमा रहेको १५.५५ प्रतिशतको तुलनामा भने खराब कर्जा अनुपात केही घटेको छ।

बैंकको कोषको लागत (कस्ट अफ फन्ड) ३.८६ प्रतिशतबाट घटेर ३.१९ प्रतिशतमा झरेको छ। त्यस्तै, औसत आधार दर (बेस रेट) पनि ५.८३ प्रतिशतबाट घटेर ४.९३ प्रतिशत कायम भएको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६५.०७ प्रतिशत रहेको छ। नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्ष ९ रुपैयाँ ४९ पैसा रहेको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर १० रुपैयाँ २६ पैसा पुगेको छ। यस अवधिमा बैंकको पुँजी पर्याप्तता अनुपात ११.८३ प्रतिशत रहेको छ।

यसरी कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम घटेका कारण प्रभु बैंकले पहिलो त्रैमासमा नाफा बढाउन सफल भए पनि ब्याज आम्दानीमा गिरावट र खराब कर्जाको उच्च अनुपात बैंकका लागि चुनौतीका रूपमा देखिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्