पत्रकार पक्राउ प्रकरणमा संसदीय समिति गठन हुनुपर्छ : सहमहामन्त्री रामहरि खतिवडा

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारको कदमलाई प्रेस स्वतन्त्रताविरुद्धको राज्य आतङ्कको संज्ञा दिनुभएको छ। उहाँले पत्रकारमाथिको यस्तो व्यवहार लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताउनुभएको छ।

शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको तथा अन्य पत्रकारको खोजी भइरहेको घटनाले गम्भीर प्रश्न उठाएको खतिवडाको भनाइ छ। नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल पक्राउ परेका थिए। त्यस्तै, दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मा, सम्पादक रिता बुढाथोकी र नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको समेत प्रहरीले खोजी गरिरहेको विषय सार्वजनिक भएको छ।

समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने, सञ्चारमाध्यमका कार्यालयमा पुगेर खोजी गर्ने र पत्रकारका मोबाइलसमेत जाँच गर्ने प्रहरी गतिविधिले स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गरेको उहाँको ठहर छ। समाचार वा अभिव्यक्तिप्रति कुनै असहमति भए त्यसको समाधान कानुनी प्रक्रिया, खण्डन वा अन्य वैधानिक माध्यमबाट खोजिनुपर्नेमा प्रहरी परिचालन गरेर पत्रकारलाई त्रसित बनाउनु लोकतान्त्रिक व्यवस्थाको मर्मविपरीत हुने उहाँको धारणा छ।

खतिवडाले घटनामा सरकारकै संलग्नता देखिएकाले सरकारले गठन गर्ने छानबिन समितिलाई आफूहरूले स्वीकार नगर्ने स्पष्ट पार्नुभएको छ। घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने उहाँको माग छ।

पत्रकारलाई निर्भीकतापूर्वक समाचार लेख्ने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले प्रेस स्वतन्त्रताको रक्षा गर्नु लोकतन्त्रको रक्षा गर्नु भएको बताउनुभएको छ। पत्रकारमाथि हुने दमन र हस्तक्षेपले नागरिकको सूचनाको हक तथा राज्यलाई जवाफदेही बनाउने सञ्चारमाध्यमको भूमिकासमेत कमजोर पार्ने खतिवडाको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्