हिमालयन रि-इन्स्योरेन्स प्रकरणमा दीपक भट्ट, शेखर गोल्छासहित २० विरुद्ध मुद्दा

काठमाडौँ – हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको रकम अपचलन तथा सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले दायर गरेको अभियोगपत्रमा प्रतिवादीहरूबाट २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरी उक्त रकम असुल, दोब्बर जरिवाना, कैद तथा सम्पत्ति जफतको मागदाबी गरिएको छ। त्यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा छुट्टै २१ करोड १५ लाख रुपैयाँ बिगो कायम गरी सजाय माग गरिएको छ।

अभियोगपत्रअनुसार भट्टले आफ्नो एकल स्वामित्वको इन्फिनिटी होल्डिङ्समार्फत मुख्य सेयर हिस्सा रहेको हिमालयन रि–इन्स्योरेन्सको रकम अपचलन गर्ने योजना बनाएको आरोप छ। त्यसका लागि आफ्नी सासू अन्जना नेपालको नाममा ‘एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि’ स्थापना गरिएको र हिमालयन रिबाट उक्त कम्पनीलाई प्राविधिक तथा लजिस्टिक सहयोगको नाममा २८ करोड रुपैयाँ पेस्की भुक्तानी गरिएको अनुसन्धानमा खुलेको अभियोगपत्रमा उल्लेख छ।

उक्त रकममध्ये ४ करोड रुपैयाँ फिर्ता भएको देखाइएको र बाँकी रकममध्ये २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा फर्छ्योट देखाउन नक्कली कागजात तयार गरिएको अभियोग छ। हिमालयन रिले नेपालका २० वटा जीवन बीमा कम्पनीको पुनर्बीमा व्यवसाय एलियन्टमार्फत आएको भन्दै रकमलाई ब्रोकर कमिसन खर्चका रूपमा देखाएको थियो। तर, नेपाल लाइफ, एसियन लाइफ, सिटिजन लाइफ र आईएमई लाइफलगायतका २० वटै जीवन बीमा कम्पनीका प्रमुखहरूले एलियन्टसँग सम्झौता नगरेको र ब्रोकर प्रयोग नगरेको लिखित बयान दिएको अनुसन्धानमा उल्लेख छ।

अभियोगपत्रमा उक्त कारोबारबाट प्राप्त रकमलाई विभिन्न चरणमा स्थानान्तरण गरी वैध देखाउने प्रयास गरिएको दाबी गरिएको छ। एलियन्टको खातामा आएको रकमलाई खर्चका रूपमा देखाउनुका साथै कर तिरेर वैध आम्दानीको स्वरूप दिने प्रयास भएको र त्यसपछि अन्जना नेपाललाई लाभांशका रूपमा वितरण गरिएको अभियोग छ।

अनुसन्धानअनुसार अन्जना नेपालको महालक्ष्मी विकास बैंक खाताबाट भट्टकी पत्नी आयुष्मा नेपाल भट्टको सिद्धार्थ बैंक खातामा २१ करोड १५ लाख रुपैयाँ स्थानान्तरण गरिएको थियो। त्यसपछि उक्त रकम दीपक भट्टको व्यक्तिगत खातामा पुगेको र त्यहाँबाट बैंकिङ ऋण तथा अन्य दायित्व भुक्तानी गर्न शंकरलाल अग्रवाल, साहिल अग्रवाल र जगदम्बा स्टिलको खातामा रकम पठाइएको अभियोगपत्रमा उल्लेख छ।

हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छासहित सञ्चालक समितिका सदस्यहरू रोहित गुप्ता, साहिल अग्रवाल, अमित मोर, सुभाष कुमार झुनझुनवाला, शुभेच्छा खरेल, राजिव मोर र साक्षी बंसल गोयलमाथि कथित फर्जी कारोबारलाई सञ्चालक समितिबाट अनुमोदन गरी रकम दुरुपयोगमा सघाएको आरोप लगाइएको छ। उनीहरूले हुँदै नभएको ब्रोकर खर्चलाई वित्तीय विवरणमा समावेश गर्न स्वीकृति दिएको सरकारी वकिलको दाबी छ।

त्यस्तै, कम्पनीका तत्कालीन सीईओ चन्द्रशेखरन रामामूर्ति, तत्कालीन सीईओ उपासना पौडेल र कार्यकारी निर्देशक मनिष कुमारमाथि आधार र कामबिना एलियन्टलाई २८ करोड रुपैयाँ पेस्की दिएको तथा फर्जी खर्च देखाएर रकम अपचलन गरेको अभियोग लगाइएको छ।

नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालमाथि पुनर्बीमा दलाल निर्देशिका, २०७८ विपरीत एलियन्ट इन्स्योरेन्स ब्रोकर्सलाई इजाजत दिएर आर्थिक अपराधमा सहयोग गरेको आरोप छ। उनीविरुद्ध २ करोड ४० लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ।

सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४, सम्पत्ति शुद्धीकरण (निवारण) ऐन, २०६४ तथा बीमा ऐन, २०७९ बमोजिम मुद्दा दायर गरेको हो। अभियोगपत्रमा प्रतिवादीहरूलाई विभिन्न कानुनी व्यवस्थाअनुसार सजाय गर्न माग गरिएको छ। अदालतबाट कसुर ठहर नभएसम्म आरोपितहरू दोषी प्रमाणित भएका मानिँदैनन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्