काठमाडौं – सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने झन्डै १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्नसमेत स्वीकृति दिएको छ । प्रवक्ता पोखरेलका अनुसार सरकारले नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावली, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद्ले सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा, समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।




