काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। आउँदो २२ गतेसम्म चल्ने महाधिवेशनमा देश तथा विदेशबाट झन्डै ७ हजार ७ सय प्रतिनिधि सहभागी हुँदैछन्।
कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो सङ्ख्यामा प्रतिनिधि सहभागी भएको महाधिवेशन भएको जनाइएको छ। उद्घाटन सत्रसँगै बन्दसत्र पनि खुलामञ्चमै आयोजना गरिएको छ।
महाधिवेशनमा प्रतिनिधिको व्यवस्थापनका लागि खुलामञ्चमा हिमाल, पहाड र तराई–मधेश नामका तीनवटा ठूला हल निर्माण गरिएका छन्। ती हलमा विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल गरिनेछ।
हालैका प्राकृतिक विपद्प्रति ऐक्यबद्धता जनाउँदै कांग्रेसले यस पटक महाधिवेशनको प्रचारशैलीलाई मितव्ययी तथा वातावरणमैत्री बनाएको जनाएको छ। भौतिक ब्यानर तथा पर्चाको प्रयोग पूर्णरूपमा निषेध गरी काठमाडौंका एक सयभन्दा बढी डिजिटल बोर्डमार्फत सूचना प्रवाह गरिएको छ।
यस पटकको महाधिवेशनले २३२ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ। विधान संशोधनमार्फत ३५ वर्षमुनिका युवाको सहभागिता, महिलाको एकतिहाइ प्रतिनिधित्व तथा विभिन्न पेशागत क्षेत्रका विज्ञहरूको सहभागिता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ।
निर्वाचन तालिकाअनुसार भोलि राष्ट्रियसभा गृहमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। प्रतिनिधिको सुविधाका लागि तोकिएका क्षेत्रमा आवास, निःशुल्क पार्किङ तथा ३० जना स्वास्थ्यकर्मीसहितको स्वास्थ्य सहायता कक्षको समेत व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।
यसैबीच, नेपाली कांग्रेसले पदाधिकारीको सङ्ख्या १७ बाट बढाएर २१ पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको प्रस्ताव बन्दसत्रमा पेश गरिनेछ।
नयाँ प्रस्तावअनुसार कांग्रेसमा एक सभापति, चार उपसभापति, दुई महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्। हाल दुई जना रहेको उपसभापतिको सङ्ख्या बढाएर चार तथा ११ जना रहेको सहमहामन्त्रीको सङ्ख्या बढाएर १३ पुर्याउने प्रस्ताव गरिएको छ।
चारै जना उपसभापति निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ। तीमध्ये एक जना वरिष्ठ र एक जना महिला अनिवार्य हुने व्यवस्था प्रस्तावमा समेटिएको छ।
त्यस्तै, ३५ वर्षमुनिका युवालाई केन्द्रीय समितिमा समेट्ने प्रस्ताव गरिएको छ भने समग्र केन्द्रीय कार्यसमिति २३२ सदस्यीय नै कायम राखिनेछ।
महाधिवेशन प्रतिनिधिबाट विधान संशोधनसम्बन्धी प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचनाअनुसार निर्वाचन प्रक्रिया अघि बढ्नेछ।




