काठमाडौँ – मनसुन बाहिरिने क्रम सुरु भए पनि पूर्वी नेपालमा वर्षा भइरहेको छ। पछिल्लो १२ घण्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, अनारमनी बिर्तामा ३३.२ मिलिमिटर र दमकमा ३५.६ मिलिमिटर वर्षा भएको छ। बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा समेत हल्कादेखि मध्यम वर्षा भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो। तर, कोशी प्रदेशबाट भने मनसुन अझै पूर्ण रूपमा बाहिरिन सकेको छैन। त्यसको प्रभाव पूर्वी नेपालमा कायमै रहेकाले वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद्का अनुसार पूर्वी नेपालमा वर्षा हुनुको अर्को कारण आसाम आसपास रहेको न्यूनचापीय प्रणाली र त्यसको वरिपरिको वायुमण्डलीय प्रभाव पनि हो। नेपाल नजिकै रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत भएको बताइएको छ।
मनसुनी वायु पूर्ण रूपमा बाहिरिन बाँकी रहेकाले पश्चिमी वायुको प्रभावसँगै देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना अझै रहेको मौसमविद् महर्जनले बताएकी छन्। उनका अनुसार दिउँसोदेखि साँझसम्म बादल लाग्ने र केही समय वर्षा हुने क्रम अझै जारी रहन सक्छ।
आगामी एक–दुई दिन भने लगातार झरी पर्ने अवस्था नरहे पनि दिउँसोदेखि साँझसम्म केही समय वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। स्थानीय वायु तथा साना स्थानीय मौसमी प्रणालीका कारण केही स्थानमा छुट्टाछुट्टै रूपमा भारी वर्षा हुन सक्ने भए पनि अहिले नै कुन स्थानमा भारी वर्षा हुन्छ भनेर ठ्याक्कै निर्धारण गर्न कठिन रहेको मौसमविद्हरूको भनाइ छ।
काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। आजको तुलनामा भोलि र पर्सि काठमाडौं उपत्यकामा वर्षाको सम्भावना केही बढ्न सक्ने मौसमविद् महर्जनले जानकारी दिएकी छन्।




