काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्से बस्तीमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण बस्तीका ८० घर बगेका छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार शनिबार रातिदेखि कालीगण्डकीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको थियो ।
बाढीका कारण अन्य घरसमेत उच्च जोखिममा रहेको जानकारी आएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दासँगै उनीहरूका जिन्सी सामानसमेत सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
हालसम्म घटनामा मानवीय क्षति भए-नभएकोबारे कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै टेलिफोन सम्पर्कमा समेत समस्या रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।
तस्विरः टोपलाल अर्याल




