वर्षाले नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन प्रभावित, असोज १३ भित्र सक्न निर्देशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू लगातारको वर्षाका कारण प्रभावित भएका छन्। मौसम अनुकूल रहेका अधिकांश क्षेत्रमा भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १० गतेका लागि तय गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मौसमको अवस्था हेरेर सञ्चालन गर्न जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ। प्रतिकूल मौसम भएका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न समितिले समय दिएको हो।

भारी वर्षाका कारण केही जिल्लामा पूर्वनिर्धारित कार्यक्रम स्थगित भइसकेका छन्। ओखलढुंगा, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक र कास्की लगायतका जिल्लामा शनिबारका लागि तय भएका क्षेत्रीय अधिवेशन प्रभावित भएका छन्। रामेछाप र कास्कीमा असोज १२ गते अधिवेशन गर्ने गरी तयारी गरिएको छ भने अन्य जिल्लामा स्थानीय अवस्था हेरेर नयाँ मिति तय गरिने जनाइएको छ। काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा असोज ९ गतेका लागि तय गरिएको मनोनयन तथा असोज १० गतेको क्षेत्रीय अधिवेशनसमेत स्थगित गरिएको छ। स्थानीय निर्वाचन समितिले मौसमको अवस्था हेरी नयाँ मिति तय गर्ने जनाएको छ।

कांग्रेसका अनुसार हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ। १५औँ महाधिवेशनको केन्द्रीय अधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्