काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी असोज ८ गतेदेखि १२ गतेसम्म देशका विभिन्न भू–भागमा हुनसक्ने भारीदेखि अति भारी वर्षा, हावाहुरी, चट्याङ, बाढी, डुबान तथा पहिरोजस्ता जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सदस्य विद्यालयहरूलाई आग्रह गरेको छ ।
प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार जारी गरेको सूचनामा विकसित मौसम प्रणाली तथा सम्बन्धित निकायबाट जारी मौसमसम्बन्धी पूर्वानुमान र सूचनालाई ध्यानमा राख्दै विद्यालय सञ्चालन तथा शैक्षिक गतिविधिको व्यवस्थापन गर्न आग्रह गरिएको हो । मौसम तथा जलजन्य जोखिम स्थानअनुसार फरक हुनसक्ने भएकाले सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक सूचना तथा चेतावनीलाई नियमित रूपमा अनुशरण गर्न पनि प्याब्सनले अनुरोध गरेको छ ।
प्याब्सनका महासचिव आरबी कटवालले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा, संरक्षण र सहज आवागमनलाई सर्वोच्च प्राथमिकतामा राख्न सदस्य विद्यालयहरूलाई आग्रह गरेको छ । विद्यालयहरूले आफ्नो स्थानीय भौगोलिक अवस्था, सडक तथा यातायातको स्थिति, विद्यालय परिसरको सुरक्षा, नदी–खोला तथा पहिरोको सम्भावित जोखिम र स्थानीय तह तथा प्रशासनबाट प्राप्त सूचनाको मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने प्याब्सनको भनाइ छ ।
विद्यालय परिसर, भवन, छाना, विद्युत् प्रणाली, खानेपानी, खेलमैदानलगायत भौतिक संरचनाको पूर्वसुरक्षा परीक्षण गरी सम्भावित जोखिम न्यूनीकरणका उपाय अपनाउनसमेत प्याब्सनले आग्रह गरेको छ । नदी, खोला, पहिरो सम्भावित क्षेत्र तथा जोखिमयुक्त सडकमार्गबाट आवतजावत गर्ने विद्यार्थी र कर्मचारीका सम्बन्धमा विशेष सावधानी अपनाउन तथा आवश्यक समन्वय कायम गर्न पनि भनिएको छ ।
त्यसैगरी, अभिभावकसँग प्रभावकारी सूचना तथा समन्वय कायम गरी विद्यार्थीको सुरक्षित आवागमन तथा जिम्मेवार निर्णय प्रक्रियालाई सहज बनाउन प्याब्सनले विद्यालयहरूलाई अनुरोध गरेको छ । स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना तथा चेतावनीलाई विद्यालय सञ्चालनसम्बन्धी निर्णयको प्राथमिक आधार बनाउनसमेत भनिएको छ ।
स्थानीय मौसम तथा सुरक्षा अवस्था असहज वा जोखिमपूर्ण देखिएमा विद्यालयहरूले आफ्नो परिस्थितिको मूल्याङ्कन गरी सञ्चालन समय परिवर्तन, वैकल्पिक सिकाइ वा अन्य उपयुक्त शैक्षिक उपाय अवलम्बन गर्दै शैक्षिक निरन्तरता कायम गर्न सक्ने प्याब्सनले जनाएको छ । एकरूप निर्णयभन्दा स्थानीय अवस्था, जोखिमको वास्तविकता तथा सम्बन्धित आधिकारिक सूचनाका आधारमा विद्यालयस्तरबाट विवेकपूर्ण र जिम्मेवार व्यवस्थापन गर्नु उपयुक्त हुने प्याब्सनको भनाइ छ ।
प्याब्सनले विद्यालय सञ्चालक, प्रधानाध्यापक, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीबीच आपसी विश्वास, सहकार्य र निरन्तर सञ्चार कायम राख्न आग्रह गरेको छ । मानवीय सुरक्षा र बालबालिकाको हितलाई शैक्षिक गतिविधिभन्दा माथि राखेर जिम्मेवार निर्णय लिनसमेत उसले अनुरोध गरेको छ । प्याब्सनका महासचिव आरबी कटवाल र प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागका संयोजक एवं उपाध्यक्ष रविन्स शर्माले संयुक्त रूपमा जारी गरेको सूचनामा सम्भावित मौसमजन्य जोखिमको प्रभाव न्यूनीकरण गर्दै सम्पूर्ण विद्यालय परिवारलाई सुरक्षित, संयमित र सजग रहन आग्रह गरिएको छ ।



