काठमाडौं । निर्वाचन आयोगले आगामी फागुनमा स्थानीय तह निर्वाचन गर्ने गरी तयारी अघि बढाएको जनाएको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन गर्ने तयारी आयोगले थालेको हो। निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाका अनुसार स्थानीय तहको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन गराउने गरी आयोगले तयारी गरिरहेको छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन सम्पन्न गर्ने व्यवस्था रहेको आयोगको भनाइ छ।
आयोगले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा अन्तरजिल्ला मतदानको व्यवस्था गर्ने विषयमा समेत अध्ययन गरिरहेको जनाएको छ। आयुक्त सुब्बाका अनुसार प्रारम्भिक चरणमा केही जिल्ला तथा प्रदेशसभा निर्वाचन क्षेत्रबाट यस्तो व्यवस्था लागू गर्ने विषयमा अध्ययन भइरहेको छ।
त्यस्तै, आयोगले निर्वाचन प्रक्रियामा प्रविधिको प्रयोग बढाउने तयारी गरेको छ। अन्तरजिल्ला मतदानका लागि आवश्यक प्रविधि र बजेटको अध्ययनसँगै आगामी निर्वाचनलाई क्रमशः डिजिटल तथा विद्युतीय प्रणालीतर्फ लैजाने विषयमा आयोगले काम गरिरहेको सुब्बाले बताएका छन्।
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउने विषयमा पनि आयोगले प्रविधिको सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ। दूतावास तथा नियोगमार्फत मतदान गराउने सम्भावनासहित विद्युतीय मतदान प्रणालीको प्रयोगबारे आयोगले तयारी गरिरहेको छ।
संविधानको धारा २२५ अनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ। त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था पनि छ।




