काठमाडौँ – सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तयार भएको छ । प्रस्तावित संशोधन विधेयक मन्त्रिपरिषद् हुँदै सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिनुभएको छ । प्रस्तावित विधेयकमा आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको मन्त्री गौतमले बताउनुभएको छ । उक्त व्यवस्था कार्यान्वयनमा आएमा बच्चा जन्मिएपछि आमा र बुबा दुवैले नवजात शिशुको हेरचाह तथा पारिवारिक जिम्मेवारीमा पर्याप्त समय दिन सक्ने अपेक्षा गरिएको छ ।
मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत आजको व्यस्त जीवन, कामको चाप तथा बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको उल्लेख गर्नुभएको छ । जीवनमा सीमितपटक आउने मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई नवजात शिशु तथा परिवारका लागि पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको उहाँको भनाइ छ ।
प्रस्तावित संशोधनमा आमाका लागि कम्तीमा छ महिनाको तलबसहितको प्रसूति बिदाको व्यवस्था गर्न लागिएको छ । त्यस्तै, बुबाका लागि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदाको प्रस्ताव गरिएको छ । बच्चा जन्मिएपछि आमासँगै बुबाको भूमिका र जिम्मेवारीलाई समेत नीतिगत रूपमा सम्बोधन गर्ने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको मन्त्री गौतमले बताउनुभएको छ । मन्त्री गौतमका अनुसार बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभई दुवै अभिभावकको साझा जिम्मेवारी हो । नवजात शिशुको हेरचाह, पारिवारिक सहयोग र अभिभावकीय भूमिकालाई सन्तुलित बनाउन बुबाको सहभागिता पनि आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रस्तावित विधेयक संसद्बाट पारित भई कार्यान्वयनमा आएमा सुरक्षित मातृत्वसँगै अभिभावकत्वका विषयमा समेत कानुनी व्यवस्था थप स्पष्ट हुने देखिएको छ । सरकारले विधेयकलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसद्मा पेस गर्ने तयारी अघि बढाएको छ ।



