काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिक, विद्यार्थी, अभिभावक तथा विद्यालयको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेसनल प्याब्सनले १ करोड १ रुपैयाँ सहयोग गरेको छ । नेसनल प्याब्सनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो ।
बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित क्षेत्रमा रहेका विद्यालय भवन, शैक्षिक सामग्री तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेको छ । विद्यार्थी तथा अभिभावकको दैनिक जीवन प्रभावित हुँदा उनीहरूको पठनपाठन र विद्यालयको नियमित शैक्षिक गतिविधिसमेत प्रभावित भएको नेसनल प्याब्सनले जनाएको छ । राहत तथा उद्धारसँगै प्रभावित क्षेत्रमा शिक्षा क्षेत्रको क्षति न्यूनीकरण र विद्यार्थीको सिकाइ निरन्तरता कायम गर्न तत्काल सहयोग आवश्यक रहेकाले संस्थागत रूपमा योगदान गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, उपाध्यक्ष विष्णु पराजुली, महासचिव प्रकाश खड्का, सचिव वेदप्रसाद पन्त, मनोज श्रेष्ठ तथा नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष अमृतकुमार खड्का लगायत विभिन्न पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति थियो । नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विपद्को समयमा राज्यको राहत तथा उद्धार अभियानमा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको बताउनुभयो । बाढीबाट प्रभावित नागरिक, विद्यार्थी तथा विद्यालयको कठिन अवस्थालाई ध्यानमा राख्दै संस्थागत रूपमा सहयोग गरिएको उहाँको भनाइ छ ।
अध्यक्ष न्यौपानेले प्रभावित विद्यालयको शैक्षिक गतिविधि पुनः सञ्चालन, विद्यार्थीको पठनपाठनलाई निरन्तरता तथा क्षतिग्रस्त शैक्षिक संरचनाको पुनःस्थापनाका लागि आवश्यक सहयोग र समन्वय गरिने बताउनुभयो । विपद्का कारण विद्यार्थीको शिक्षामा लामो समयसम्म असर नपरोस् भन्नेमा संस्थाले विशेष ध्यान दिने उहाँले उल्लेख गर्नुभयो ।
नेसनल प्याब्सनले विभिन्न विपद्का समयमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएको जनाएको छ । यसपटकको सहयोग पनि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन राज्यसँग सहकार्य गर्ने उद्देश्यले गरिएको संस्थाले जनाएको छ । बाढीपछि प्रभावित क्षेत्रमा घर, विद्यालय, सडक तथा अन्य भौतिक संरचनामा भएको क्षतिसँगै विद्यार्थी र उनीहरूको शैक्षिक अवस्थाबारे पनि गम्भीर चासो बढेको छ । यस्तो अवस्थामा शिक्षण संस्था, विद्यार्थी र अभिभावकको हितलाई समेत प्राथमिकतामा राखेर गरिएको सहयोगले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र राज्यसँगको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।



