प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिइने

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज मङ्गलबार अपराह्न १ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयका कामकारबाही, नीति तथा समसामयिक विषयसँग जोडिएका प्रश्न उठाउनेछन् भने सम्बन्धित मन्त्रीहरूले त्यसको जवाफ दिनेछन् । संसद्मा मन्त्रालयगत रूपमा उठाइने मौखिक प्रश्नमार्फत सरकारका निर्णय, सेवा प्रवाह तथा कार्यसम्पादनबारे सांसदहरूले जानकारी माग्ने गरेका छन् ।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उक्त प्रस्तावमार्फत एसियाली विधायिकी संस्थाहरूको परिषद्सँग सम्बन्धित सदस्यता तथा सम्मिलन प्रक्रियालाई अघि बढाउने विषयमा सदनमा छलफल हुनेछ ।

यसैबीच, आज सङ्घीय संसद्का विभिन्न समितिका बैठकसमेत बस्दैछन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । समितिका बैठकमा सम्बन्धित विषय तथा मन्त्रालयसँग जोडिएका समसामयिक विषयमा छलफल, निर्णय तथा आवश्यक निर्देशनका विषय अघि बढाइनेछन् । प्रतिनिधिसभाको बैठकसँगै संसदीय समितिका गतिविधि पनि नियमित रूपमा सञ्चालन हुने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्