काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उहाँले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरुले उपलब्ध गराएको स्रोतसाधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो।
उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको आजको छलफल उहाँहरुको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। छलफलको क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबिचको तत्काल समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो ।
उहाँले जनप्रतिनिधिलाई लक्षित गर्दै भन्नुभयो, “यसअघि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय हुँदैन भन्ने सुन्दैआएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौं, मिलेर काम गरेका छौं ।” प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्नेगरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरु पूर्ववत् अवस्थातर्फ स्वतःस्फूर्त फर्कन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरुले सुरुबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरु जोखिममा रहेको विषय उठाउँदै स्थानीय जनप्रतिनिधिहरुले भनेजस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउनुभयो। त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउनेगरी तयारी सुरु गरेको जानकारी गराउनुभयो।
उहाँले भन्नुभयो, “बस्ती बसाउँदा प्रभावित मानिसहरुको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति लगायतलाई ध्यान दिनुपर्छ । पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै, वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ ।” यसका लागि प्रधानमन्त्री शाहले आफै जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो। भेटमा प्रभावित क्षेत्रका जनप्रतिधिहरुसँगको छलफलले त्यहाँको वस्तुस्थिति बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहको भनाइ छ ।
गोरखापत्र



