काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन पक्ष पार्टीभित्र देखिएको विवाद समाधान गर्दै अर्को पक्षलाई समेत समेटेर अघि बढ्न थप लचक भएको छ । सभापति गगन थापा नेतृत्वको नयाँ केन्द्रीय समितिमा पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो समितिमा रहेका तथा विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई समेत समेट्ने निर्णय संस्थापन पक्षले गरेको हो । कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले अघिल्लो केन्द्रीय समितिमा रहेका तर विशेष महाधिवेशनपछि बनेको नयाँ समितिमा समावेश नभएका नेताहरूलाई समेत केन्द्रीय समितिमा सहभागी गराउने निर्णय गरेको छ । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई केन्द्रीय आयोजक समिति सदस्यका रूपमा समेटेर आगामी महाधिवेशनमा सहभागी गराउने उद्देश्यसहित यस्तो निर्णय गरिएको हो ।
बैठकपछि संस्थापन पक्षका एक पदाधिकारीले सबैलाई केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिने बताए । उनका अनुसार केन्द्रीय समितिमा आउन इच्छुक नेताहरूलाई समेटेर महाधिवेशन आयोजक समितिका रूपमा अघि बढ्ने तयारी छ । ‘सबैलाई केन्द्रीय समितिमा बस्ने गरी आह्वान हुन्छ । केन्द्रीय समितिमा आएर महाधिवेशनको आयोजक समितिकै रूपमा रहनुहुन्छ,’ उनले भने, ‘महाधिवेशनमा सहभागी हुन अपिल गर्दछौँ । केन्द्रीय समितिमा बस्न चाहनेहरू आउनुहुन्छ, नचाहनेहरू आउनुहुन्न ।’
विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई कसरी समेट्ने भन्ने विषय पछिल्लो समय कांग्रेसभित्र विवादको मुख्य विषय बनेको थियो । संस्थापनइतर पक्षले विशेष महाधिवेशनमा सहभागी नभएका तथा त्यसको विपक्षमा रहेका १११ जना पूर्वकेन्द्रीय सदस्यलाई समायोजन गर्नुपर्ने माग गर्दै आएको थियो । संस्थापन पक्ष भने विशेष महाधिवेशनको विपक्षमा रहेका सबैलाई एकमुष्ट रूपमा समायोजन गर्ने विषयमा यसअघि स्पष्ट रूपमा तयार देखिएको थिएन । तर पछिल्लो निर्णयसँगै सभापति थापा नेतृत्वको समितिमा आउन इच्छुक सबैलाई सहभागी गराउने बाटो खुलेको छ । यसलाई पार्टीभित्रको विवाद कम गर्दै आगामी १५औँ महाधिवेशनलाई सहमतिका आधारमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ ।
संस्थापन पक्षले क्रियाशील सदस्यता अद्यावधिकको विषयमा पनि आफ्नो अघिल्लो अडानमा लचकता देखाइसकेको छ । अद्यावधिक नगरेका तर गत पुससम्म सदस्यता नवीकरण गरेका सबैलाई १५औँ महाधिवेशनमा मान्यता दिनुपर्ने संस्थापनइतर पक्षको माग थियो । यसअघि अद्यावधिक भएका सदस्यलाई मात्र महाधिवेशनको सदस्य मान्ने अडानमा रहेको संस्थापन पक्ष त्यसबाट पछि हटेर गत पुससम्म नवीकरण भएका सदस्यलाई समेत मान्यता दिने दिशामा अघि बढेको हो ।
पार्टीभित्र एकता कायम गर्न संस्थापन पक्षले थप लचकता अपनाउने संकेत गर्दै कांग्रेस नेता आचार्यले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रयास जारी रहने बताएका छन् । ‘पार्टी एकताका लागि हाम्रो तर्फबाट देखाउनुपर्ने हार्दिकता र लचकतामा कमी हुँदैन । सबैलाई समेटेर जाने कुरामा हामी ठूलो छाती बनाउँछौँ,’ उनले भने, ‘कांग्रेसलाई टुक्रिन त दिँदैनौँ नै, चोइटिन पनि नदिनेमा हामी छौँ ।’ यसअघि संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्का तथा नेता डा. शेखर कोइराला पक्षसँग समेत संवाद अघि बढाएको थियो । खड्का पछिल्लो समय संस्थापन पक्षप्रति तुलनात्मक रूपमा लचक देखिए पनि तत्कालै कुनै पक्षमा खुलेर सहभागी हुने अवस्थामा नरहेको उनी निकट नेताहरू बताउँछन् । विशेष महाधिवेशनबाट आएको नेतृत्वको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका कारण नैतिक रूपमा समेत आफू तत्काल सहभागी हुन नचाहेको उनी निकट नेताहरूको भनाइ छ ।
देउवा र खड्का दुवैले विशेष महाधिवेशनबाट आएको नेतृत्वसम्बन्धी निर्णयविरुद्ध पुनरावलोकनका लागि छुट्टाछुट्टै निवेदन दिएका छन् । यही कारण खड्का तत्कालै संस्थापन पक्षको महाधिवेशन प्रक्रियामा प्रत्यक्ष रूपमा सहभागी नहुने मनस्थितिमा रहेको उनी निकट एक नेताले बताए । यद्यपि खड्का निकट कतिपय नेताहरू भने सभापति थापा नेतृत्वमा हुने नियमित महाधिवेशनतर्फ उन्मुख हुन थालेका छन् ।
यसैबीच, केही दिनअघि कांग्रेसका विभिन्न नेताहरूले दुवै पक्षले तय गरेका महाधिवेशनका छुट्टाछुट्टै कार्यतालिका स्थगित गरी संवादमार्फत सहमति खोज्न आग्रह गरेका थिए । महालक्ष्मी उपाध्याय ‘डिना’, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीता गुरुङ, सरस्वती बजिमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, शान्ति परियार, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौडेल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, इन्द्रबहादुर बानियाँ, अनिल रुंगटालगायत नेताहरूले संवाद र सहमतिमा जोड दिएका थिए । संयुक्त अपिलमा सहभागी नेतृ सीता गुरुङले सामाजिक सञ्जालमार्फत आफू पार्टी एकताको पक्षमा रहेको संकेत गरेकी छन् । उनले नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा जहाँ हुन्छ, आफू त्यहीँ रहने भन्दै सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता भएको उल्लेख गरेकी छन् ।
नेता डा. शेखर कोइराला निकटका केही नेताहरू भने सभापति थापा नेतृत्वको समितिमा यसअघि नै सहभागी भइसकेका छन् । बद्री पाण्डे, डा. मिनेन्द्र रिजाल, सञ्जय गौतमलगायत नेताहरू कोइरालासँगै रहेका छन् । कोइराला पक्षकै नेता दीपक गिरी भने सभापति थापा नेतृत्वको समितिमा सहभागी हुन इच्छुक रहेको कांग्रेसका एक केन्द्रीय सदस्यले दाबी गरेका छन् । यद्यपि कोइराला स्वयं भने कुनै पनि पक्षले आयोजना गर्ने महाधिवेशनमा तत्काल सहभागी नहुने मनस्थितिमा रहेको उनी निकट नेताहरू बताउँछन् ।
कोइराला पक्षले पूर्वसभापति शेरबहादुर देउवाको सम्मानपूर्वक बिदाइ हुनुपर्ने धारणा राख्दै आएको छ । कांग्रेस नेता रामहरि खतिवडाले नयाँ पुस्तालाई नेतृत्वमा अगाडि बढाउँदै पुरानो पुस्तालाई सम्मानपूर्वक बिदाइ गर्नुपर्ने धारणा राखेका छन् । ‘हामी शेरबहादुर देउवाको पनि ग्रेसफुल एक्जिट होस् भन्ने चाहन्छौँ । अबको राजनीतिमा नयाँ पुस्तालाई अगाडि लिएर हिँड्दा नै फाइदा हुन्छ भन्ने हामीले महसुस गरेका छौँ,’ उनले भने ।
कांग्रेसले सभापति गगन थापा नेतृत्वमा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन गर्ने मिति तोकिएको छ । जिल्ला र प्रदेश तहका अधिवेशन भने महाधिवेशनपछि गर्ने तयारी छ । अर्कोतर्फ देउवा पक्षले पनि समानान्तर रूपमा महाधिवेशन केन्द्रित गतिविधि अघि बढाइरहेको छ । देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका बनाएको छ भने असोज १५ गते वडा अधिवेशन गर्ने मिति तय गरेको छ । दुई पक्षले फरक–फरक कार्यतालिका अघि बढाइरहेका बेला संस्थापन पक्षले सबैलाई समेटेर एउटै प्रक्रियाबाट महाधिवेशन सम्पन्न गर्ने प्रयासलाई तीव्रता दिएको हो।



