भदौ महिनाको करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा हुने

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज १ गते घोषणा गरिने भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले भदौ महिनाका लागि तय गरिएको पुरस्कार घोषणा असोज १ गते गरिने जानकारी दिनुभएको छ । करदातालाई बिल–बिजक लिन प्रोत्साहित गर्नुका साथै कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको हो ।

साउन १ गतेदेखि सञ्चालनमा आएको उक्त कार्यक्रमअन्तर्गत भदौ १६ गते भदौ महिनाको पहिलो चरणको पुरस्कार घोषणा गर्ने तयारी गरिएको थियो । तर भोटेकोशी बाढीपछि देशमा विपद्को अवस्था सिर्जना भएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो । अब स्थगित घोषणा असोज १ गते गर्ने तयारी विभागले गरेको हो । महानिर्देशक भुसालका अनुसार भदौ १ गतेदेखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्तामध्येबाट दैनिक एक जनाका दरले १५ जना विजेता छनोट गरिनेछ । प्रत्येक विजेताले रु. १ लाख ३३ हजार ३३४ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी भदौ १ देखि १५ गतेसम्म कारोबारमा सहभागी उपभोक्तामध्येबाट एक जनालाई रु. १० लाख राशिको ‘करदाता बम्पर प्रोत्साहन पुरस्कार’ प्रदान गरिनेछ । विभागले उपभोक्ताले बिल लिने र विद्युतीय माध्यमबाट कारोबार गर्ने प्रवृत्तिलाई बढावा दिने उद्देश्यले यस्तो पुरस्कारको व्यवस्था गरेको जनाएको छ । भदौ महिनाको दोस्रो चरणमा अर्थात् भदौ १६ देखि ३१ गतेसम्म कारोबार गर्ने उपभोक्तामध्येबाट १६ जनालाई रु. १ लाख ३३ हजार ३३४ का दरले पुरस्कार प्रदान गरिनेछ । सोही अवधिका उपभोक्तामध्येबाट एक जनालाई रु. १० लाख राशिको बम्पर पुरस्कारका लागि छनोट गरिने विभागले जनाएको छ ।

यसरी असोज १ गते भदौ महिनाका लागि रु. १ लाख ३३ हजार ३३४ का दरले ३१ जना विजेता र रु. १०–१० लाखका दुई जना बम्पर विजेता गरी कुल ३३ जना उपभोक्तालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । विभागले पुरस्कार कार्यक्रममार्फत उपभोक्तालाई प्रत्येक खरिदमा बिल लिन र कर प्रणालीमा सहभागी हुन थप प्रोत्साहन पुग्ने अपेक्षा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्