काठमाडौँ । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलन गरिएका नमुनाको डिएनए परीक्षण तीव्र पारिएको छ । नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार शव पहिचानका लागि सङ्कलन गरिएका नमुनामा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले विशेषज्ञको निगरानीमा सूक्ष्म रूपमा परीक्षण भइरहेको छ । परीक्षणलाई छिटो सम्पन्न गर्न नेपाल प्रहरीका विशेषज्ञ टोलीसँगै भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञको समेत सहयोग लिइएको छ । प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय र कोरियाली विज्ञ तथा खुमलटारस्थित प्रयोगशालामा भारतीय र चिनियाँ विज्ञले प्राविधिक सहयोग गरिरहेका छन् ।
डिएनए परीक्षणका लागि हाल चार वटा मेसिन सञ्चालनमा छन् । आवश्यक तयारी पूरा गरेपछि एउटा मेसिनले करिब ९० मिनेटमा एउटा नमुनाको नतिजा निकाल्न सक्छ । तर अर्को नमुना परीक्षण गर्नुअघि मेसिनलाई पूर्ण रूपमा निर्मलीकरण गर्नुपर्ने भएकाले प्रक्रिया थप समय लाग्ने प्रहरीको भनाइ छ ।
विशेषगरी हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा बढी समय लाग्ने गरेको विशेषज्ञले बताएका छन् । हड्डी र दाँतबाट डिएनए निकाल्न ती अङ्गलाई पहिले धुलो बनाएर विशेष रसायनमा राखिन्छ । त्यसपछि करिब ७२ घण्टापछि मात्र थप परीक्षणको प्रक्रियामा लैजान सकिने भएकाले यस्तो नमुनाको परीक्षण पूरा गर्न चार दिनसम्म लाग्न सक्ने जनाइएको छ ।
शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गरी एक हजार २३० शव माटोमुनि व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ७७९ गरी कुल तीन हजार ६५ डिएनए नमुना सङ्कलन गरिएको छ ।
नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको नियमित वार्षिक क्षमता करिब ४०० वटा डिएनए परीक्षण गर्ने भए पनि अहिले विपद्को अवस्थालाई ध्यानमा राखेर दैनिक २५ देखि ३० वटा नमुना परीक्षण भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो । प्रहरीले भदौ १३ गतेदेखि डिएनए नमुना सङ्कलन सुरु गरेको हो । हालसम्म करिब ४०० भन्दा बढी नमुनाको परीक्षण भइसकेको छ ।
विशेषज्ञका अनुसार सबै नमुनाबाट पहिलोपटकमै स्पष्ट नतिजा आउन आवश्यक छैन । विशेषगरी हड्डी र दाँतबाट निकालिएका डिएनएको करिब ३० प्रतिशत नमुनामा पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ । त्यसका कारण शव पहिचानको प्रक्रिया थप समय लाग्न सक्ने भए पनि प्रहरीले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै परीक्षणलाई तीव्रता दिएको छ ।
डिएनए परीक्षणको चाप कम गर्न बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा समेत थप प्रयोगशाला सञ्चालन गर्ने तयारी गरिएको छ । प्रवक्ता काफ्लेका अनुसार हेटौँडाका लागि आवश्यक मेसिन ल्याइसकिएको छ भने प्रयोगशाला ‘सेटअप’को काम भइरहेको छ । उक्त प्रयोगशाला एक साताभित्र सञ्चालनमा ल्याउने तयारी छ ।
भोटेकोशी विपद्पछिको खोज तथा उद्धार, शव पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा राखेर प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आवश्यक पहल गरिरहनुभएको प्रहरीको भनाइ छ । डिएनए परीक्षणमा स्वदेशी तथा विदेशी जनशक्तिको सहयोग लिइएको छ भने प्रहरीका सम्बन्धित सबै जनशक्तिलाई बिदासमेत नदिई २४ घण्टा परिचालन गरिएको छ ।
डिएनए ‘म्याचिङ’का लागि कोडिस सफ्टवेयर
फेला परेका शव र हराइरहेका व्यक्तिका नजिकका आफन्तबाट सङ्कलित नमुना मिलान गर्न प्रहरीले ‘कम्बाइन डिएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोगमा ल्याएको छ । मृतक र आफन्तको डिएनए प्रोफाइल सफ्टवेयरमा राखेपछि प्रणालीले सम्भावित जैविक सम्बन्धका आधारमा ‘म्याचिङ’ गर्न सहयोग गर्ने प्रवक्ता काफ्लेले बताउनुभयो ।
डिएनए नमुना मिलान भएपछि सम्बन्धित व्यक्तिको पहिचान पुष्टि गर्न आवश्यक कागजात तथा अन्य प्रमाणसमेत हेर्ने गरिएको छ । त्यसपछि अन्तर्राष्ट्रिय अभ्यास र प्रचलित कानुनअनुसार पहिचान भएका शव सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
नेपालमा डिएनए परीक्षण खर्चिलो र समय लाग्ने प्रक्रिया भए पनि विपद्को गम्भीरतालाई ध्यानमा राखेर सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराएको प्रहरीको भनाइ छ । बाढी प्रभावित क्षेत्रबाट थप शव फेला पर्ने क्रम जारी रहेकाले उपकरण, जनशक्ति र प्रयोगशाला क्षमताको विस्तार प्रहरीका लागि चुनौती बनेको छ ।
नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतक तथा आफन्तका नमुना सङ्कलन गरी प्रयोगशालामा पठाउने क्रम निरन्तर छ । सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणका सबै मापदण्ड पूरा गरी प्रयोगशालाका कर्मचारी अहोरात्र काममा खटिएको उहाँले बताउनुभयो ।
शव पहिचानका लागि तीन विधि
प्रहरीले बाढीमा फेला परेका शवको पहिचानका लागि डिएनए परीक्षणसँगै औँठाछाप र फोटो भिडानलाई पनि प्रयोग गरिरहेको छ । यी तीनवटै विधिबाट प्राप्त प्रमाणका आधारमा शवको पहिचानलाई यथासम्भव विश्वसनीय बनाउने प्रयास भइरहेको छ ।
हराएका व्यक्ति र फेला परेका शवको फोटो भिडानका लागि प्रहरीले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ सफ्टवेयरसमेत प्रयोगमा ल्याएको छ । केही शवबाट औँठाछाप निकालेर प्राविधिक रूपमा रूपान्तरण गरी उपलब्ध अभिलेखसँग मिलान गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो ।
औँठाछाप प्रमाणीकरणका लागि राष्ट्रिय परिचयपत्रलगायतका प्रणालीमा रहेका जैविक विवरणको समेत उपयोग भइरहेको छ । यो विधि डिएनएको तुलनामा कम खर्चिलो र छिटो मानिन्छ । तर हात नभएका वा लामो समय पानीमा रहेर गलेका शवबाट औँठाछाप लिन नसकिने भएकाले सबै शवमा यो विधि प्रयोग गर्न सम्भव हुँदैन ।
विपद्मा ठूलो सङ्ख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएको अवस्थामा शव पहिचान आफैँमा जटिल र संवेदनशील प्रक्रिया हो । त्यसैले प्रहरीले डिएनए, औँठाछाप र फोटो भिडानजस्ता वैज्ञानिक तथा प्राविधिक विधिलाई समानान्तर रूपमा अघि बढाउँदै मृतकको पहिचान सकेसम्म छिटो गरी परिवारलाई शव हस्तान्तरण गर्ने प्रयास गरिरहेको छ।



